पहाडको चट्टानमाथि
ढुंगाको कापबाट उम्रेको
असिना, हुरी, आँधीको
बीचबाट हुर्केको
असंख्य ज्वालामुखी
महासुनामी छिचोल्दै अगाडि बढेको
म मीनबहादुर !
त्यसैले मलाई
चुनौतीको पहाडसँग
खेल्न मन लाग्छ
आँधी र ज्वालामुखीसँग
पौंठेजोरी गर्न मन लाग्छ
निराशा, पलायन र रोदन
मेरो शब्दकोशमा नै छैनन्
आशा, विश्वास र उज्यालो
मेरा साथीहरू हुन्
आकाश, चुचुरो, क्षितिज
मेरा गन्तव्यहरू हुन्
निरन्तर, निष्कण्टक, अविरल
मेरा यात्राहरू
आज मेरा सृष्टिहरू
आज मेरा सृजनाहरू
आततायीका दुष्ट हातहरूबाट
जलाइएका छन्, भत्काइएका छन्
आफ्नै आँखाअगाडि
आगाका लपेटाहरूले
आफ्नो सन्तानलाई जिउँदै जलाउँदा
कुन आमाले आफ्नो मुटु थाम्न सक्छ ?
कुन बाबुले आफ्नो छाती चिर्नबाट रोक्न सक्छ ?
तर, पनि म आफ्नै आँखाअगाडि
सृष्टिको खरानी हेर्न विवश छु
तर, पनि म आफ्नै आँखाअगाडि
सृजनाको फूलबारी तहसनहस भएको हेर्न विवश छु
प्राकृतिक मृत्यु सहन सकिन्छ
प्रकृतिको नियमसँग सम्झौता गर्न सकिन्छ
तर, आततायीहरूले दिनदहाडै
मेरो सृष्टिको घाँटी निचोर्दा
मेरो सृजनाको दियो निभाँउदा
म चुप बसूँ कसरी ?
म चुप बस्न सक्छु कसोरी ?
त्यसैले म हारेको छैन
मैले मैदान छाडेको छैन
हिम्मतका साथ उठ्दै छु,
धुलो टकटक्याएर उठ्दै छु
मेरो सपनाको
मेरो सृष्टिको
मेरो सृजनाको खरानी
शिरमा राखेर
अझ उचाइमा
अझ गहिराइमा
अझ वेगवान् गतिमा
मेरा यात्राहरू
मेरा पाइलाहरू
निरन्तर लक्ष्यमा
अगाडि बढ्नेछन्
हिजोभन्दा तेज
आजभन्दा वेग
शोकलाई शक्तिमा बदलेर ।