site stats
बाह्रखरी :: Baahrakhari
खेल
...अनि रोहितले लुम्बिनीका खेलाडीसँग आमाको परिचय गराए

काठमाडौं । खेल समाप्त हुनासाथ लुम्बिनी लायन्सका सन्दीप जोरा मैदानमै रहेका कप्तान रोहितकुमार पौडेलनजिक पुग्छन् । रोहितसँगै रहेकी आमालाई नमस्ते गर्दै केहीबेर भलाकुसारी गर्छन् ।

शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीचको खेलपछि मैदानमा देखिएको दृष्य हो, यो । जितसँगै प्लेअफ पुगेको लुम्बिनीका कप्तान रोहितले खेलपछि सबैसँग आमा पाल्जिस पौडेलको परिचय गराए । मैदानमै पुगेर नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले पनि पाल्जिससँग केहीबेर भलाकुसारी गरे । 

खेलपछि रोहितले प्रश्न पाए, ‘आज आमालाई सबै खेलाडीसँग चिनाउनु भयो, यही अवसर खोजिरहनु भएको थियो की ?’

“लास्ट गेममा पनि आउनुभएको थियो । तर, म जिरोमा आउट भएँ । अलिकति नराम्रो मान्दै हुनुहुन्थ्यो । आज सबैकुरा मिलेको थियो । उहाँ पनि खुसी हुनुहुन्थो,” लुम्बिनी लायन्सले जितपछि प्लेअफयात्रा तय गरेसँगै आमालाई टिमका सबै खेलाडीसँग परिचय गराएको सन्दर्भबारे कप्तान रोहितकुमार पौडेलले भने ।

शुक्रबारको जितपछि प्लेअफको खुसीयालीसहित रोहितले टिमसँग आमाको परिचय गराउन गज्जवको माहोल पाए ।
 
जितसँगै लुम्बिनी प्लेअफ पुग्ने चौथो टिम बन्दा एनपीएलमा साविक जनकपुर बोल्ट्ससँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको प्लेअफ सम्भावना एकै पटक बन्द भयो । 

लुम्बिनीअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका थिए । यसमध्ये सुदूरपश्चिमले शीर्ष स्थान सुनिश्चित गर्दा अरु तीन टिमको स्थान भने लिग चरणका सबै खेलपछिमात्रै लाग्नेछ ।

खेलमा टस जितेर ब्याटिङमा आए पनि साविक विजेताले २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । १३३ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट नै गुमाएर जित हासिल गर्‍यो ।  

लुम्बिनीको उतार–चढाव
गत सिजन पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्ने टिम थियो, लुम्बिनी लायन्स । पहिलो संस्करणको लिग चरणमा सातमध्ये एक खेलमा मात्रै लुम्बिनीले जित निकालेको थियो । 

दोस्रो संस्करणको पहिलो खेलमै चितवन राइनोजविरुद्ध पाँच विकेटको जितसहित लुम्बिनीले प्रतियोगितामा सानदार सुरुआत गर्‍यो । तर, त्यसपछि लय हराउँदा लुम्बिनी लगातार तीन खेलमा पराजित भयो । लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध सात विकेटको हार व्यहोरेको थियो ।

लगातारको तीन हारपछि लुम्बिनी लायन्सका मालिक इश्वर जिसी आफैँ क्लबको प्रदर्शनप्रति सन्तुष्ट बन्न सकेनन् । उनले सामाजिक सञ्जालमै लेखे, ‘इज इट नट इनफ नाउ (अब पनि पुगेन) ।’

क्लबको स्वामित्व लिएका जिसी आफैँले यस्तो लेखेपछि सामाजिक सञ्जालमा यसको आलोचना समेत भयो । लगत्तै जिसीले अर्को पोस्टमा लेखे, ‘क्रिकेट मेरो लगाव अनि लुम्बिनी मेरो घर हो । म माफी चाहन्छु ।’ 

लगातारको हारले लुम्बिनी र कप्तान रोहितमाथि नै चर्को दबाब स्वभावलै थपिएको थियो । त्यसमाथि मालिकको यस्तो प्रतिकृयाले सामाजिक सञ्जालमा लुम्बिनीको प्रदर्शनप्रति निकै धेरै टिप्पणी भए । 

“सोसल मिडियामा जे आए पनि हामीसँग त्यो विश्वास थियो । मैले यहीँ आएर पनि हाम्रो अझै खेल सकिएको छैन पनि भनेको थिए । गत वर्ष पुछारमा थियौँ । यो सिजन हामीले आफूलाई प्रमाणित गर्नुपर्ने थियो । एक टिमको रुपमा राम्रो खेल्यौँ ।”

साविक विजेताको ‘विजोग’
गत सिजनको च्याम्पियन जनकपुर बोल्ट्स यो वर्ष निक्कै खराब लयमा रह्यो । जनकपुरले लिग चरणका ६ खेल खेल्दा एक खेलमा मात्रै जित निकालेको छ । 

गत वर्ष दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको जनकपुर यसपटक तालिकाको पुछारमा छ । लिग चरणमा अन्तिम खेल बाँकी रहे पनि शुक्रबारको हारले जनकपुरको प्लेअफ सम्भावनामा पूर्णविराम लागिसकेको छ । 

जनकपुरले आफ्नो अन्तिम खेलमा शनिबार कर्णाली याक्सविरुद्ध खेल्दै छ । यही खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । अहिलेसम्म समान दुई अंकसहित कर्णाली सातौँ र जनकपुर पुछारमा छन् । यसैकारण यी दुई अब प्रतिष्ठाको लडाईं लड्दै छन् । 

“पछिल्लो खेलको जितले समर्थकहरूले पनि हामी प्लेअफमा पुग्छौँ भन्ने आशा राखेका थियौँ । तर, हामी असफल रह्यौँ,” प्रतियोगिताबाट बाहिरिएपछि जनकपुरका कप्तान जान निकोल लोफ्टी इटोन पनि भन्छन्, “अन्तिम खेलमा हामीले मर्थकलाई खुसी बनाउन र हाम्रो प्रतिष्ठाको निम्ति खेल्नुपर्नेछ ।”

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०६:०८
प्रतिक्रिया दिनुहोस्