काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब साफ महिला क्लब च्याम्यिनसिपमा बंगलादेशी टिम नस्रिन फुटबल क्लबविरुद्धको पहिलो हाफमा १–० ले अगाडि छ ।
शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली एपीएफलाई फरवार्ड रश्मीकुमारी घिसिङले अग्रता दिलाइन् । रश्मीले ४१औँ मिनेटमा टोलीकी मीनाकुमारी देउवाको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । प्रतियोगितामा पाकिस्तानको कराची सिटी एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी, बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बंगाल एफसी र नेपालको एपीएफ फुटबल क्लबको सहभागिता छ ।
प्रतियोगिता आगामी डिसेम्बर २० गतेसम्म हुनेछ । ‘सिंगल राउन्ड रोबिन’को आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछ ।