site stats
बाह्रखरी :: Baahrakhari
खेल
लुम्बिनीलाई जनकपुरको डर, विराटनगरले गुमाएको सुनौलो अवसर

काठमाडौं । “जनकपुरसँगको खेल जितेर प्लेअफमा छनोट हुन्छौँ भन्ने आशा छ,” जितलगत्तै लुम्बिनी लायन्सका ब्याटर सन्दीप जोराले पत्रकारसँगको सवाल–जवाफमा सुरुमै भने ।

गत सिजनको निराशजनक प्रदर्शनबाट उठ्दै गरेको लुम्बिनीले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा राम्रो लयमा रहेको टिममध्येकै एक विराटनगर किंग्सविरुद्ध पाँच विकेटको जित दर्ता गर्‍यो । लय ठिकठाक रहे पनि लुम्बिनीको प्रदर्शन अझै पनि ‘क्रिकेट आनन्द’ दिने बनिसकेको छैन । तर, पछिल्ला दुई खेलमा निकालेको लगातार जितले भने लुम्बिनीको प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि लुम्बिनीले नै विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दियो । लोकेश बम, जर्ज मुन्से, साम हेजलेटजस्ता ‘पावर हिटर’मा दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डू प्लेसिस पनि थपिएपछि विराटनगरको ब्याटिङ विस्फोटक हुने अनुमान थियो । 

तर, डू प्लेसिसकै निम्ति रंगशाला पुगेका विराटनगरका समर्थकले ब्याटिङमा आक्रामक शैली कुनै पनि बेला देख्न पाएनन् । पहिलो इनिङमा निर्धारित २० ओभर ब्याटिङ गरे पनि विराटनगर आठ विकेट गुमाएर १४४ रनको मध्यम योगफलसम्ममात्र पुग्न सक्यो । जसलाई भेट्टाउन लुम्बिनी कुनै पनि बेला संघर्षरत देखिएन ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले १४ बल बाँकी छँदै पाँच विकेटमात्रै गुमाएर लक्ष्य पूरा गर्‍यो  । 

गत सिजनको पीडा भुलाउँदै लुम्बिनी, विराटनगर पनि दबाबमा
लगातारको दोस्रो जितले लुम्बिनी गत सिजनको पीडा भुलाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । लुम्बिनीले ६ खेल खेल्दा ६ अंक नै जोडेको छ । 

प्रतियोगितामा हालसम्म सुदूरपश्चिमले प्लेअफमा स्थान बनाइसक्दा कर्णाली यो समीकरणबाट बाहिरिसकेको छ । 

बुधबार विराटनगरको हारले प्रतियोगिताको प्लेअफ समीकरण अझ खुला बन्यो । जसमा सबैभन्दा धेरै फाइदा लुम्बिनी, पोखरा, चितवन र काठमाण्डूले पाएका छन् । 

लुम्बिनीसँगको हारले विराटनगरलाई पनि अन्तिम खेलमा जितको दबाब थपिएको छ । लुम्बिनीविरुद्धको जितले विराटनगर ६ खेलबाट १० अंकसहित प्लेअफ पुग्ने दोस्रो टिम बन्ने समीकरण थियो । तर, हारले ६ खेलबाट आठ अंकमै सीमित हुँदा विराटनगरले लिग चरणको अन्तिम खेलमा जित निकाल्नु पर्ने भएको छ । विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्ने तालिका छ । 

यता, विराटनगरसँगको जितले लुम्बिनीलाई भने निक्कै हदसम्म राहत पुगेको छ । लुम्बिनीले अन्तिम खेलमा जनकपुरलाई हराउन सके आफ्नो प्लेअफ सम्भावना यात्रा बलियो बनाउने छ । तर, काठमाडौं र पोखरा तथा पोखरा र चितवनबीचको खेलले लुम्बिनीको प्लेअफ सम्भावना निर्धारण गर्नेछ । 

अंक तालिकाको पुछारमा रहे पनि जनकपुरको झिनो गणीतिय सम्भावना कायमै छ । जनकपुरले पाँच खेल खेल्दा दुई अंक जोडेको छ । 

डू प्लेसिसविरुद्ध खेल्न पाउँदाको अनुभव
लुम्बिनीविरुद्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डू प्लेसिसले एनपीएलमा डेब्यु गरे । विराटनगरबाट ओपनिङमा आएका फाफले पहिलो खेलमा ब्याटिङतर्फ खास योगदान दिन सकेनन् । उनले एनपीएलको आफ्नो पहिलो खेलमा १२ रनमात्र बनाउन सके । 

लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरको अन्तिम बलमा डू प्लेसिस आउट गरे । अभिषेशको बललाई ‘स्टेपआउट’ गर्दै लामो प्रहार गर्न खोज्दा क्रिज छोडेका फाफलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरे । 

नौ बल खेलेका डू प्लेसिसले दुई चौका प्रहार गरे । फिल्डिङमा फाफले लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले खेलेको प्रहारमा उत्कृष्ट क्याच गरे ।

‘अफ साइड’मा रोहितले बल उठाएर खेले पनि फाफले उल्टो दौडिँदै कठिन क्याच गरे । क्याच लिँदा मैदान भित्रै बिछ्याइएको प्रायोजक ब्यानरमा फाफको टाउको बजारिएको थियो ।

पहिलोपटक त्रिविमा फाफविरुद्ध खेल्न पाउँदा विपक्षी टिमका ब्याटर सन्दीप जोराले आफूहरू उत्साहित रहेको बताए ।

“वल्र्ड क्लास प्लेयर हो । विश्वको सबैजसो लिग खेलेको अनुभव छ । उहाँसँग खेल्न पाउँदा हामी उत्साहित थियौँ । उहाँको फ्यान भए पनि आज हामीले विपक्षी खेलाडीको रुपमा हेरेका थियौँ,” जोराले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०६:०९
प्रतिक्रिया दिनुहोस्