site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वप्रहरीको राजनीति मोह– झोँक कि शक्तिको मोह ?

काठमाडौं । प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल शुक्रबारदेखि सक्रिय राजनीतिमा होमिदै ओखलढुंगामा पार्टी कार्यालय स्थापना गर्न पुगेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी सक्रिय भएका हुन् ।

शुक्रबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा पुग्दै पोखरेलले भने, ‘‘रास्वपा पार्टीले मात्रै देश बनाउँछ भन्ने भरोसा देखेको पार्टी हुँदा म समाहित भएको हुँ । परिवर्तनका लागि इमान्दार व्यक्तिहरु यही पार्टीमा छन् । यो पार्टीबारे धेरै बुझेर आएको छु । अब म यही पार्टीबाट देश र जनताका लागि लड्छु ।’’

पोखरेल यत्तिमै रोकिएनन् हाल सहकारीको रकम अपचलन आरोपमा अदालती आदेशमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने माथिसमेत ‘अन्याय’ भएको जिकिर लिँदै उनको न्यायका लागि पनि लड्ने उद्घोष गरे ।

त्यसो त, पोखरेल प्रहरी सेवाबाट अनिवार्य अवकाश लिएका अधिकारी होइनन् ।

२०७९ वैशाखमा प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले प्रहरी संगठनमा ‘विद्रोह’ गर्दै राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि उनी आईजीपी आफू हुनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगे ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आईजीपीमा उनीसँगै प्रहरी सेवामा लागेका अर्का एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गर्‍यो । तर, आफू एआईजी हुँदा वरिष्ठ भएको हुँदा आईजीपी हुनुपर्ने दाबी उनको थियो ।

सर्वोच्च अदालतले पनि सरकारी निर्णय सदर गरेपछि पोखरेलले राजीनामा दिएका थिए । एआईजीबाट राजीनामा दिएका पोखरेलले यो तीन वर्षको अवधिको अधिकांश समय आफूलाई आईजीपी नबनाएर अन्याय गरेको भन्दै देउवा नेतृत्वको सरकारको आलोचनामा गरिरहे ।

अझ भदौ २४ मा देउवामाथि जेनजी समूहले आक्रमण गर्दा ‘पाप करायो’ भन्ने उनको बोली सुनिएको थियो । रास्वपा प्रवेशलगत्तै उनी गृहजिल्ला ओखलढुंगा हानिएका छन् । पोखरेल फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगाबाट उमेदवार बन्ने तयारीमा छन् ।

तर, उनका पछिल्ला अभिव्यक्तिले उनी राजनीतिमा सक्रिय हुनुको पछाडि जनताको सेवाभन्दा बढ्ता आक्रोशको भाव झल्किइरहेको एक पूर्व प्रहरी अधिकारीकै टिप्पणी छ । पोखरेलबाहेक हाल राजनीतिमा पूर्वप्रहरी महानिरीक्षकद्वय (आईजीपीख) सर्वेन्द्र खनाल, ध्रुवहादुर प्रधान, पूर्व एआइजी नवराज सिलवाल, पूर्वडीआईजी रमेश खरेल पनि राजनीतिमा सक्रिय छन् ।

पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह माओवादी कोटाबाट संविधानसभा सदस्य बने । हाल उनी सक्रिय राजनीतिमा छैनन् । यसरी नै पूर्वआईजीपी मोतीलाल बोहोरासमेत कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

उनीबाहेक केही अन्य प्रहरी अधिकारी डीआईजीद्वय गणेश राई, गणेश केसी, पूर्वएसएसपी विक्रमसिंह थापा पनि राजनीतिमा होमिन खोजेकै हुन् । राई बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा लागेका थिए भने केसी र थापा नेपाली कांग्रेसमा । उनीहरु सबै निस्क्रिय छन् ।

एमालेको सक्रिय राजनीतिमा होमिएका खनाल यसपालि आफैँ पार्टी अध्यक्ष बन्दै सक्रिय भएका छन् । खनालले आफ्नै अध्यक्षतामा ‘समुन्नत नेपाल पार्टी’ गठन गरेका छन् । खनाल २०७९ मंसिरमा भएको चुनावमा काठमाडौं–६ र उपचुनावमा तनहुँ–२ मा एमालेबाट चुनाव लडेका थिए ।

तर, दुवै क्षेत्रबाट रास्वपा उमेदवारद्वय शिशिर खनाल र स्वर्णिम वाग्लेसित पराजित भए । नवराज सिलवाल अझै एमालेमा सक्रिय छन् ।

रमेश खरेल पछिल्लो समय सक्रिय राजनीतिबाट बिदा भएजस्तै अवस्थामा छन् । पछिल्लो समय टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका छन् । गएको निर्वाचनमा खरेल काठमाडौं–१ बाट पराजित भएका थिए । आफैँ अध्यक्ष रहेको सुशासन पार्टीबाट उमेदवार बनेका उनी कांग्रेस नेता प्रकाशमान सिंहसित पराजित भएका थिए ।

पछि बारा क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा उनी रास्वपाको तर्फबाट उमेदवार बने । तर, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसित उनी पराजित भएका थिए । पूर्वआईजीपी ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय छन् ।

गएको निर्वाचनामा नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्‍यमा विजयी भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यसमेत रहेका उनी कानुन मन्त्रीसमेत बने । प्रहरी सेवाबाट अवकाशपछि राजनीतिमा लागेकाहरुमध्ये सबैभन्दा सफल व्यक्तिका रुपमा प्रधान अघि छन् ।

आईजीपीको भोक पूरा गर्न राजनीति !

राजनीतिमा सक्रिय प्रहरीका ‘पूर्वहाकिम’हरु राजनीतिक यात्रा सामान्य देखिँदैन । पूर्वएआईजी विश्वराज पोखरेसहित पूर्वडीआईजीद्वय रमेश खरेल र नवराज सिलवाल पनि आईजीपी हुन नसकेकै झोँकमा राजनीतिमा होमिएका हुन् ।

उनीहरु तीनैजना प्रहरीमा बहाल रहँदा आईजीपी बन्ने महत्वाकांक्षामा थिए । तर, आईजीपीको अन्तिम राउण्डमा उनीहरु तीनजना पछि परे । डीआईजीदेखि एआईजी बढुवा हुँदासम्म पोखरेल आईजीपीका निर्विकल्प अधिकारीका रुपमा हेरिएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ईश्वर पोखरेलसितको हिमचिमले डीआईजी र एआईजीमा एकल बढुवा भए । एआईजीमा त दरबन्दी सिर्जना गरी उनलाई बढुवा गरिएको थियो । तर, पछि उनको विकल्पमा डीआईजीमा पछि पारिएका धिरजप्रताप सिंहलाई देउवा सरकारले छोटो समयका लागि एआईजी बढुवा गर्दै आईजीपी बनायो ।

पोखरेल आफू आईजीपी नभएको झोँकमा अड्डा अदालत धाए । सर्वोच्चले आईजीपी नियुक्तिको अधिकार सरकारकै तजबिजीको भएको निर्णय दिएपछि उनले २०७९ साउनमा राजीनामा दिएका थिए । पूर्वडीआईजीद्वय रमेश खरेल र नवराज सिलवाल पनि आईजीपी हुन नपाएपछि सेवाबाट राजीनामा दिएका अधिकारी हुन् ।

हाल राजनीतिमै सक्रिय पूर्वआईजीपी सर्वेन्द्र खनाल २०७४ मा प्रहरीको २६औँ आईजीपी हुँदा खरेल डीआईजीमै रोकिएका थिए । प्रहरीमा एआईजी नहुँदा डीआईजीबाटै आईजीपी बनाउन मिल्ने कानुनी व्यवस्था छ । त्यही आधारमा सरकारले डीआईजी खनाल, खरेलमध्येबाट खनाललाई आईजीपी बनायो ।

एसएसपी बढुवासम्म पहिलो नम्बरका खरेललाई डीआईजी हुँदा खनालले पछि पारेका थिए । खनाल आईजीपी बनेपछि खरेलले डीआईजीबाटै राजीनामा दिँदै संगठनबाट बाहिरिए । नवराज सिलवालको विगत पनि पोखरेल र खरेलभन्दा फरक छैन ।

२०७३ चैतमा प्रहरीको २५औँ आईजीका प्रतिस्पर्धीत्रय थिए, नवराज सिलवाल, जयबहादुर चन्द र प्रकाश अर्याल । तर, सरकारले आईजीपीमा चन्दलाई नियुक्त गर्‍यो । तर, आईजीपीका महत्वकांक्षी सिलवाल आफू आईजीपी हुनुपर्ने मागसहित सर्वोच्च पुगे ।

सर्वोच्चले सिलवालकै पक्षमा आदेश त गरेन । तर, त्यतिबेला चन्दलाई आईजीपी बनाउने सरकारी निर्णय कार्यन्वयनमा रोक लगायो ।

पछि सरकारले चन्दको विकल्पमा आईजीपीमा प्रकाश अर्याललाई नियुक्त गर्‍यो । सिलवालले डीआईजीबाटै राजीनामा दिँदै एमालेको राजनीतिमा सक्रिय हुन पुगे । २०७४ को प्रतिनिधिसभा सदस्यको चुनावमा ललितपुर–१ मा विजयी भए ।

सिलवालले नेपाली कांग्रेसका उदयशमशेर राणालाई पराजित गरेका थिए । २०७९ को चुनावमा भने उनी राणासित पराजित भए । पूर्वआईजी ध्रबबहादुर प्रधानको आईजीपी कार्यकाल समेत विवादरहित थिएन । तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले २०५३ सालमा आईजीपी अच्युतकृष्ण खरेललाई सरुवा गर्दै प्रधानलाई आईजीपी बनाएका थिए ।

खरेल आइजीपी भएको ३६ दिन मात्र भएको थियो । तर, पछि आदालतबाट पुनः खरेल आईजीपी बनेपछि प्रधान हटेका थिए । खेलकुद क्षेत्रमा सक्रिय प्रधानले पछि राप्रपाबाट राजनीतिमा सक्रिय भएका हुन् । २०७९ पुसमा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भए ।

शक्तिको निरन्तरता

प्रहरीका उपल्ला तहका अधिकारी राजनीतिमा सक्रिय हुुनुको अर्को कारण शक्तिको मोह हो । प्रहरी सेवामा हुँदाका ३० वर्ष प्रहरी अधिकारीका लागि शक्ति र पहुँच दुबै अधिक हुन्छ ।

ठूला व्यवसायीदेखि पार्टीका शीर्षतहका नेताहरुसमेत प्रहरी अधिकारीहरु नजिक रहन्छन् । तर, अवकाशपछिको जीवन ‘प्रहरी हाकिम’का लागि ‘दाह्राबिनाको बाघ’ जस्तै हुने गरेको राजनीतिमै सक्रिय एक पूर्वप्रहरी अधिकारीको टिप्पणी छ ।

उनका अनुसार कतिपय प्रहरी अधिकारीलाई अवकाशलगत्तै संगठनका बहालवाला प्रहरी अधिकारीले सलामसमेत गर्दैनन् । केही समयअघि पूर्वडीआईजी महेशविक्रम शाहले त आफ्नो पूर्वसवारी चालकले समेत फोन उठाउन छाडेको प्रसंग फेसबुकबाटै पोष्ट गरेका थिए ।

लामो समय शक्तिको अभ्यास गरेका प्रहरीका पूर्व हाकिमहरुलाई अवकाशपछिको एक्लो जीवन पट्यारलाग्दो भएपछि राजनीतिमा सक्रिय हुने गरेको केही पूर्व प्रहरी अधिकारी नै बताउँछन् । पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल मुख्यतः शक्तिकै अवकाशपछि राजनीतिमा लाग्ने गरेको बताउँछन् ।

उनका अनसार, केही पूर्वप्रहरी अधिकारीहरु ३० वर्ष लामो समय शक्तिमा रहँदा अवकाशपछि पनि त्यही शक्ति आर्जन गर्न उद्यत हुन्छन् । अझ केही पूर्व प्रहरी अधिकारीहरु त सेवामा रहँदाका आफ्ना कमजोरी ढाकछोप गर्न शक्तिमा पुग्न चाहन्छन् ।

केही मात्र आफूले बझेको ज्ञान र अनुभव राज्यका लागि प्रयोग गरौँ भन्ने उद्देश्यले सक्रिय हुने गरेका हुन् । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्