site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पूर्वपश्चिम एसियन हाइवेको स्तरोन्नति २५ प्रतिशत

काठमाडौं । पूर्वपश्चिम एसियन हाइवेको समग्र निर्माण २५ प्रतिशत सकिएको छ ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्डबमोजिम स्तरोन्नति गरिँदै छ । सडकलाई दुई खण्डमा विभाजन गरी बनाइँदै छ ।

काँकडभिट्टादेखि झापाकै केरखा, सीतापुरीसम्म ४५ किलोमिटरखण्डको निर्माण प्रगति २९ प्रतिशत छ । ०८० कात्तिकमा तीन वर्षभित्र यो खण्ड निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

सीतापुरीदेखि सुनसरीको लविपुरसम्म ५० किलोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार (मंसिर १५) उक्त निर्माणाधीन राजमार्गको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले सुनसरीको इटहरीदेखि झापाको बिर्तामोडसम्मको बाटो निर्माण प्रगति, त्यसक्रममा देखिएका समस्या र समाधानका निम्ति गर्नुपर्ने कामलगायत विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल पनि गरे ।

उनले सडक स्तरोन्नतिको काम सुरु भए पनि गतिमा नभएको देखिएको बताए । हिउँदयाम सुरु भएसँगै कामको गति बढाउनुपर्ने उपयुक्त मौसम भएको उनले उल्लेख गरे । उनले जनशक्ति थप गरी कामको गति बढाउन निर्देशन दिए ।

सडकको दायाँबायाँ रहेका विद्युत्का पोल सार्न केही समस्या देखिएको उनले उल्लेख गरे । तर, नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक समन्वय गरी निर्माण प्रभावित हुन नदिने उनले बताए ।

आयोजनामा १३४ कल्भर्ट तथा वन्यजन्तुमैत्री अन्डरपास, सात सवारी अन्डरपास, पाँच आकाशे पुललगायत संरचना निर्माण गरिनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्