जुम्ला । तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष ०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार, गाउँपालिकाले सो आवमा अनुमानित कुल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७.७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२.१ प्रतिशत खर्च भएको छ ।
जम्मा चालु र पुँजीगत गरी ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५.७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
बजेट निकासको आधारमा चालु र पुँजीगत गरी ९७.८३ प्रतिशत खर्च भएको छ ।
विकास निर्माणदेखी सेवा प्रवाहलाई चुस्त राख्न गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोत्तर गरेका थिए ।