काठमाडौं । नेपालमा आज (मंसिर १५)देखि हिउँदयाम सुरु भएको छ । मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम भनिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो चिसो मौसमको समय हो । यो अवधिमा हिमपात, शीतलहर र हिउँदे वर्षा हुने महाशाखाले जनाएको छ ।
करिब तीन महिनाको हिउँद अवधिमा वार्षिक कुल वर्षाको चार प्रतिशत हाराहारीमा पानी पर्ने गर्छ ।
हालको मौसम
देशमा यति बेला दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
सोमबार (मंसिर १५) दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस दिन राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाको सम्भावना औँल्याएको छैन । तत्काल पानी नपर्ने महाशाखाले जनाएको छ ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि ‘दित्वा’ नामक समुद्री आँधीको प्रभावले नेपालको पूर्वी भागमा बादल लागेको उल्लेख गरेका छन् । त्यसको प्रभावले घाम मधुरो लागेको उनले जनाएका छन् ।
“दित्वा नामक यो आँधीको प्रभावले नेपालको पूर्वी भागमा बादल लाग्दा घाम भने मधुरो बनाएको छ,” उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “यो मधुरो घाम कम्तीमा दुई दिन यस्तै हुने सम्भावना छ । नेपालमा वर्षाको सम्भावना भने देखिँदैन ।”
