काठमाडौं । गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको संस्थानले यो क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित एकेडेमी स्थापनाको निर्णय गरेको हो ।
पत्रकारिता क्षेत्रका निम्ति आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन–अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशनलगायत कार्यका लागि एकेडेमी सञ्चालन गर्न लागिएको संस्थानले जनाएको छ ।
यही मंसिर १२ गते बसेको संस्थान सञ्चालक समितिको बैठकबाट एकेडेमी स्थापना गर्ने निर्णय गरिएको योजना विभागका निमित्त निर्देशक ताराबहादुर बस्यालले जानकारी दिए ।
एकेडेमी सञ्चालनका निम्ति संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहने गरी एक कार्यदल गठन गरिनेछ । एकेडेमीलाई आवश्यकताअनुसार विषयगत विज्ञ, प्रशिक्षक र परामर्शदाताको ‘रोस्टर’ तयार गरिनेछ ।
एकेडेमीले सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, नेपाल पत्रकार महासंघ, विशेषज्ञ एवम् निजी संस्थासँग कार्य समन्वय गर्ने, डिजिटल अर्काइभ, ई लाइब्रेरी, अनलाइन तालिम, डिजिटल प्रकाशन प्रणालीको सुधार तथा विस्तारलगायत जिम्मेवारी पूरा गर्ने संस्थानले जनाएको छ ।