राजनीतिमा दुई प्रकारका युद्ध हुन्छन् । पहिलो आत्मिक युद्ध, जुन विचार, आदर्श, चरित्र र विश्वासले लडिन्छ । दोस्रो ‘टेक्निकल’ युद्ध, जहाँ डेटा, डिजिटल स्टन्ट, मिडिया म्यानुअल, भिड जुटाउने कला र क्षणिक मनोविज्ञान निर्माणको सहारामा लडिन्छ ।
नेपाली कांग्रेस आन्तरिक रुपमा आज कुन युद्धमा छ भन्ने प्रश्न सोध्नु आवश्यक छैन । किनकि यो पार्टीका पछिल्ला धेरै बैठक–सभा सम्मेलनमा विचार आएनन् ।
नीति देखिएनन्, जनताको पीडा एजेन्डा बनेनन् । नेतृत्व उत्पादन प्रक्रियाभन्दा हल्ला उत्पादन प्रक्रिया नै प्रभावशाली बन्दै गयो । हुन त, यो रोगको कांग्रेसमात्र नभएर सिङ्गो देश नै शिकार भइरहेको छ । तर, यो आलेखको उद्देश्य कांग्रेसको बारेमा मात्र चर्चा गर्ने हो ।
कांग्रेस आफ्नो परम्परागत वैचारिक विरासतबाट च्युत हुँदै आन्तरिक र बाह्य दुवैतर्फ केवल टेक्निकल उपस्थितिमा मात्र सीमित हुने दिशातर्फ गइरहेको छ । अर्थात् यो पार्टी टेक्निकल युद्धको दलदलमा फँसेको छ ।
यो दलदलमा रहुन्जेल कांग्रेसजनको गुणात्मक वृद्धि विकास अपवादबाहेक असम्भव प्रायः छ । हुन त, विगतको दशकदेखि नै कांग्रेसभित्र गुणात्मक नेतृत्वको उत्पादन ठप्प छ ।
साथै, कांग्रेससामु एउटा भयावह समस्या पनि देखिएको छ । त्यो भनेको दिनप्रतिदिन आत्माविहीन संस्थाको रुपमा रूपान्तरण भइरहेको अस्फूर्ति कांग्रेस हो ।
जब राजनीति यान्त्रिक हुन्छ, आत्मा हराउँछ । राजनीति मूलतः मान्छेको जीवन, अनुभूति, मूल्य र चेतनाको खेल हुनुपर्ने हो । तर, आज कांग्रेसमा देखिएको अवस्था यस्तो छ, मानौँ दलभित्र अब मान्छे होइन, अल्गोरिदम, भिड, डिजिटल बोलीभार, ट्रोल र टेक्निकल हल्ला एक–अर्कासँग लडिरहेका छन् ।
आज जति बैठक, कार्यक्रम र छलफल गरेपनि सिङ्गो कांग्रेससँग, आफ्नै महाधिवेशनको, त्यो पनि नीति शून्यताको नेतृत्वकेन्द्रित बहसबाहेक कुनै एजेन्डा नै छैन । मानौं, कांग्रेस अब शून्यतामा रमाउँछ र आफैँभित्रको सीमिततामा हराउँछ बाहिर उसलाई केही कसैको मतलब छैन । विशेष महाधिवेशन चाहिने हो कि नियमित ? यति मात्र छ आजको कांग्रेसको सरोकार ।
अब कांग्रेस सरोकारको गहिराईमा जाऔं ।
विशेष कि नियमित ?
नेतृत्व तुरुन्त फेरिने हो कि प्रक्रियात्मक चक्रमै जानुपर्छ ? पार्टी बचाउन कस्तो कदम आवश्यक छ ? यी प्रश्नहरू सतहमा राजनीतिक बहस जस्तो देखिन्छन् । तर गहिराइमा पुग्दा पत्ता लाग्छ, कांग्रेस राजनीतिक युद्धमा छैन, टेक्निकल युद्धमा छ । यो त्यही युद्ध हो । जहाँ न विचार बन्छ, न एजेन्डा जन्मिन्छ, न नेतृत्वको चरित्र मापन हुन्छ ।
बन्छ भने केवल कसले बढी डिजिटल धुलो उडायो भन्ने कुरा । जसरी रोबोट ‘ए’ र रोबोट ‘बी’ लड्दा रोबोट ‘बी’ जित्यो भने इतिहासमा केही बदलिँदैन, केवल हेडलाइन बन्छ, “रोबोट बी विजयी ।”
आज कांग्रेसको विशेष वा नियमित महाधिवेशनको सारा विवाद त्यही रोबोटिक हेडलाइन जस्तै बन्छ सारमा अर्थहीन, आत्माविहीन, र असङ्गत भविष्य ।
१. विशेष भर्सेज नियमित महाधिवेशन : “यो बहस विचारको होइन; यो केवल अधिकार र नियन्त्रणको युद्ध हो ।”
विशेष महाधिवेशन चाहने पक्ष भन्छ : “नेतृत्व असफल भयो । पार्टी थला पर्यो । तुरुन्त फेरबदल चाहिन्छ ।”
नियमित चाहने पक्ष भन्छ : “प्रक्रिया छोडेर किन हतारो । समयमै नियमित महाधिवेशन नै उचित ।”
दुवै तर्क सुन्नमा ठीक लाग्छन् । तर गहिराइमा के छ ? यो बहसलाई सतहबाट उचालेर गम्भीर राजनीतिक माइक्रोस्कोपमा हेर्दा स्पष्ट हुन्छ ।
यो विवाद विचारको होइन, पार्टी कसले नियन्त्रण लिन्छ ? कसको पकड बलियो हुन्छ ? कसले कुन समूह कब्जा गर्छ ? र आगामी निर्वाचनमा टिकट कसले बाँड्छ भन्ने नै हो, कांग्रेसको विशेष वा नियमित महाधिवेशनको वास्तविकता ।
यो केवल प्रक्रियागत असहमति होइन, दलभित्र चलिरहेको “पार्टी कसले कब्जा गर्ने ?” भन्ने यान्त्रिक अधिकार युद्ध हो ।
२. कांग्रेसमा उब्जिएको ‘टेक्निकल युद्ध’
राजनीतिक दलको आत्मा नाश गर्ने रोग आजको कांग्रेसमा तीन विषयले नेतृत्व र पार्टी चरित्र निर्धारण गर्छ । मिडिया–म्यानिपुलेसन, सोसल मिडिया र फेक फाइटर, भीड प्रबन्धन कौशल । यिनै आधारमा मूल्यांकन, उन्नयन र नेतृत्व निर्माण हुने भएपछि पार्टी ‘मानवीय’ बाट बिस्तारै ‘यान्त्रिक’ बन्न पुगेको छ ।
यसैलाई म ‘टेक्निकल युद्ध’ भन्छु । यस युद्धमा नीति छैन, विचार छैन । वैचारिक विमर्श छैन । जनहितको योजना छैन । राष्ट्रिय रणनीति छैन । छ भने केवल, कति छरछरती भीड उठाउन सकिन्छ, कति शीघ्र डिजिटल हल्ला चलाइन्छ, कसरी ट्रोल सेनालाई चलाइन्छ, कसरी हेडलाइन कब्जा गरिन्छ, कसरी प्रतिद्वन्द्वीलाई ‘दुश्मन’ फ्रेम बनाइन्छ ।
यही मापन नै नेतृत्व दावाको प्रमुख मापक बन्दै गर्दा, राजनीति रोबोटिक हुँदैछ । अब नेता पात्र होइन, मेसिनको आउटपुट जस्तो बन्दैछन । र यसको सर्वाधिक हानिकारक प्रभाव भनेको, कांग्रेसको सम्पूर्ण ऊर्जा ‘टेक्निकल युद्ध’मा खपत हुँदै जानु हो ।
महाधिवेशन विशेष होस् वा नियमित अब टेक्निकल युद्धकै भागमा सीमित रहने सम्भावना छ ।
३. कांग्रेसभित्रको ‘पुस्ता युद्ध’
वास्तविक मुद्दा होइन । आज कांग्रेसभित्र एउटा खतरनाक मनोवैज्ञानिक फ्रेम निर्माण गरिएको छ । ‘नयाँहरू स्वर्गदूत’ । ‘पुरानाहरू खत्तम, असफल’ । हुन त धेरैले यो पनि भन्छन्, ‘पुरानाले संस्थालाई जोगाएका छन्’, ‘नयाँ अपरिपक्व छन् ।’ तर वास्तविकतामा, यो पुस्ता युद्ध होइन । विचारविहीनताको युद्ध हो ।
पुरानालाइ बिदा गरौं भन्दै गर्दा, विचारको वजन बोक्न सक्ने अनुशासन नयाँले देखाउनुपर्ने हो । तर टेक्निकल रूपमा औपचारिक पद वा नेतृत्वलाई मात्र नेतृत्व मान्ने नयाँ पुस्ताले विचारधारिता प्रदर्शन गर्न खोजे तापनि साँच्चिकै सामथ्र्य राख्न सकेका छैनन् ।
टेक्निकल युद्धले के गर्यो ? दुबै पक्षलाई मनोवैज्ञानिक रूपमा ‘प्रतिस्पर्धी रोबोट’ बनाइदियो । एकले अर्कोलाई शत्रु ठान्ने, विचार, नीतिभन्दा बाहिरका विवादमा अट्किने ।
जसको नतिजास्वरुप पार्टीमा विचार पलायन हुँदैछ, एजेन्डा बोक्ने तागत हराउँदैछ । संगठन बिस्तारै जडवत् यान्त्रिक बन्दैछ र तथ्यले मृत्युवरण गर्दैछ । तर ट्रोलहरूको जन्म पुनर्जन्म भइरहेको छ, अरु सबैको स्थान यसैले कब्जा गरिरहेको छ ।
त्यसैले अब नयाँ या पुराना, दुवै अतिवादी कथन गलत छन् किन नभन्ने ? भीड, हल्ला, डिजिटल उपस्थितिमा बलियो देखिएका तर नीतिगत गहिराई निर्माण गर्न नसकेका नयाँ पुस्ता र संस्थागत स्मृति र अनुभव बोकेका तर डिजिटल लडाइँमा कमजोर पुराना पुस्ताकाबीच प्राविधिक क्षमताको मात्र युद्ध हुने अवस्था देखिन्छ ।
यो युद्धबाट न जन्मन्छ, गहिरो नीति, न जन्मन्छ दीर्घकालीन एजेन्डा । जन्मन्छ भने यान्त्रिक, हल्का, बुख्याचा नेतृत्व, जो डिजिटल हल्लामा बलियो देखिन्छ । तर ऐतिहासिक जिम्मेवारी बोकेर चल्न असमर्थ हुन्छ ।
४. महाधिवेशन र नेतृत्व–निर्माण : विचारविहीन प्रक्रियाको अर्थहीनता
विशेष महाधिवेशनः तुरुन्त नेतृत्व परिवर्तन, तर निरन्तर विवाद । विशेष महाधिवेशनले के दिन्छ ? नेतृत्व बदल्न सकिन्छ, असन्तोष केही क्षण शान्त हुन्छ । समूहहरूको पुनः म्यापिङ हुन्छ । तर मूल समस्या, विचार, एजेन्डा, संस्थागत चरित्र, नीति–फ्रेम कुनै परिवर्तन हुँदैन । तुरुन्तै खेल सुरु हुन्छ, ‘कसले कब्जा गर्ने ?’ अर्को संस्करणमा ।
नियमित महाधिवेशन : समयमा हुने तर विचारविहीन प्रक्रिया
नियमित महाधिवेशन हुँदा प्रक्रिया बच्छ, संरचना बन्छ, निरन्तरता देखिन्छ । तर विचार, नीति, संस्थागत अनुशासन फिर्ता नआएपछि नियमित महाधिवेशन पनि केवल यान्त्रिक प्रक्रिया बनिन्छ । गाडी, इन्जिन राम्रो होइन, त्यसको फिटिङ मिति मात्र हुन्छ ।
५. कांग्रेस जोगिन चाहन्छ भने,
सबैभन्दा पहिला आत्मा फिर्ता ल्याउनुपर्छ । आज कांग्रेसलाई एउटा नेतृत्व चाहिएको होइन, एउटा आत्मा चाहिएको छ । एउटा मार्ग, एउटा दृष्टि । एउटा चरित्र, एउटा नीति– कम्पास । त्यो विना महाधिवेशनको कुनै सार्थक अर्थ छैन । विशेष होस् या नियमित ।
विचार–पुनरुत्थान
कांग्रेसले १५–२० वर्षे दीर्घकालीन वैचारिक रणनीतिक ढाँचा तयार गर्नुपर्छ । आर्थिक संरचनाको खाका,
विदेश नीतिको राष्ट्रिय लाइन, संघीय पुनर्संयोजनको स्पष्ट दृष्टि, शिक्षा स्वास्थ्य सुधारको व्यवहारिक मोडेल, विकास र सु–शासनको तथ्यमा आधारित रोडम्याप आदि ।
संस्थागत सर्वोच्चता
नेता होइन, संगठन प्रधान । कसैको नेटवर्क, भीड, डिजिटल शक्ति, हल्ला, मिडिया दबाबले पद र नेतृत्व निर्धारण नहोस् ।
जमिन–आधारित नेतृत्व निर्माण । टिकटक, फेसबुक वा युट्युभ नेता होइन, भ्रमण र अभियानबाट प्रमाणित नेता ।
कांग्रेसबाट नेता जन्मिंदा उसले एकभन्दा बढी सार्वजनिक बहस गरिसकेको होस् । ५–७ नीतिगत ड्राफ्ट तयार गरिसकेको होस् । र कम्तीमा १० वर्ष तीन तह वा भातृ सुभेच्छुक संस्थाको संगठनमा बसेर सेवाको इतिहास बोकेको होस् ।
६. आजको महाधिवेशन विवाद :– विशेष वा नियमित ?
कांग्रेसको आजको प्रश्न ‘कसरी महाधिवेशन गर्ने ?’ होइन । ‘महाधिवेशन के का लागि गर्ने ?’ ‘कसरी आत्मा फिर्ता ल्याउने ?’ ‘कसरी विचार पुनर्जीवित गर्ने ?’ यिनै मुख्य प्रश्न हुन् ।
विशेष महाधिवेशन, यदि विचारविहीन छ भने : खाली शोर हो । नियमित महाधिवेशन, यदि संस्थागत अनुशासनविना छ भने : खाली कागज हो । महाधिवेशन केवल ढोका हो, कांग्रेसको आत्मा भने घर हो । ढोका बदलियो भनेर घरको आत्मा फिर्ता आउँदैन । पहिले आत्मा फर्काऊ– अनि मात्र ढोका कसरी खुलाउने भन्ने कुरा अर्थपूर्ण हुन्छ ।
७. कांग्रेसको भविष्य कुनै टेक्निकल युद्धले तय गर्दैन
कांग्रेस बच्छ भने, डिजिटल हल्ला, भीड, मिडिया–प्रहार, अल्गोरिद्मिक लोकप्रियताले बचाउँदैन । कांग्रेस बच्छ, जब विचार बोल्न थाल्छ । जब नीति प्राथमिक बन्छ । जब नेतृत्व चरित्रले जन्मिन्छ । जब संगठन मस्तिष्कले काम गर्छ । जब महाधिवेशन यान्त्रिक प्रतिस्पर्धा होइन, राजनीतिक प्रक्रिया बन्छ ।
आजको कांग्रेसलाई टेक्निकल विजय होइन, वैचारिक मुक्ति चाहिएको हो ।
विशेष महाधिवेशन होस् वा नियमित तर कांग्रेसले आफ्नो आत्मा जोगाउनु पर्यो । कांग्रेसको आत्मा जोगिनु भनेको नेपालकै भविष्य जोगिनु हो । तर कांग्रेसले गुमेको आत्मा फिर्ता ल्याएन भने यस दलले आउने दशक ‘बुख्याचा नेतृत्व’को अन्धकारमा बिताउनेछ । र, त्यो कांग्रेसको मात्र होइन नेपालको भविष्यको हार पनि हुन सक्नेछ ।
(महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस)