देउखुरी । दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७, बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु१ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१०, नारायणपुरको पशुपति बोर्डिङ स्कुलनजिकै शुक्रबार (मंसिर १२) ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा शनिबार (मंसिर १३) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
ज्यान गुमाएका केसीको शव घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । रासस