इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
शनिबार (मंसिर १३) दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार दुईजनाको मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा इलाम नगरपालिका–९, गोलबस्तीका २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिकाको नयाँबजार घर भई इलाम–७, चोकबजारमा बस्दै आएका १९ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार, दुर्घटनालगत्तै उपचारका निम्ति जिल्ला अस्पताल लगिएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए ।
ट्रकका चालक इलाम–५, बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस