site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
त्रिवि मैदानबाहिर ‘गुग्ली मःम’देखि ‘डट बल’सम्म

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा बलरले गुग्ली फ्याँक्दै छन् । त्यही मैदानबाहिर खुद्रा व्यापारीले कमाइको ‘छक्का’ हानिरहेका छन् ।

यही मंसिर १ गतेदेखि सुरु नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणले रंगशाला वरपरको सडकलाई सानो बजारमा परिणत गरिदिएको छ । एकातिर दर्शकको हुटिङ, अर्कोतिर चिया, चाउचाउ, मःम, क्लबका स्टिकर र जर्सीको बिक्रीमा व्यापारी रमाइरहेका छन् ।

खुद्रा व्यापारी दुर्गा सापकोटाले यहाँ दिनमा आफूले ४० प्लेटसम्म मःम बिक्री गरिरहेको बताए । आफू सन्दीप लामिछानेको फ्यान भएकाले स्टलको नाम नै ‘गुग्ली मःम’ राखेको उनले सुनाए ।

“दिनमा ३०–४० प्लेट मःम बिक्छ । सन्दीप लामिछानेको फ्यान भएकाले स्टलको नाम नै गुग्ली मःम राखेको छु,” सापकोटाले भने ।

उनीजस्तै राजन शाक्यले क्लबका स्टिकर, झन्डा, क्याप, मास्कलगायत सामान बेचिरहेका छन् । “दिनमा तीन हजारदेखि १० हजारसम्म कमाइ भइरहेको छ,” उनले भने, “गत वर्षभन्दा योपटक अलि कम हुनसक्छ, तर पनि राम्रै छ ।”

तर, सबै व्यापारी खुसी छैनन् । १८ वर्षीय धमन धामीले भने गुनासो गरे । खेल अवधिमा रंगशालाभित्रबाट दर्शक निस्कन नपाउने कारणले व्यवसाय खासै हुन नसकेको उनले बताए ।

“स्टेडियमभित्र दर्शकले खेल अवधिभर बस्नैपर्ने नियम छ । एकपटक बाहिर निस्कियो भने पुनः प्रवेश गर्न पाइँदैन । यसले हाम्रो व्यापार चौपट भएको छ,” उनले भने ।

एनपीएल सुरु भएको पहिलो तीन दिन त प्रशासनले स्टल नै राख्न दिएन । स्टल राख्न नदिएको सम्झँदै खुद्रा व्यापारी रोशनी कोइरालाले समन्वयपछि राख्न दिएको र सानोतिनो व्यापार भइरहेको बताइन् ।

“पहिले त निकै दुःख भयो, पछि समन्वय गरेर बल्ल ठाउँ पायौँ,” उनले भनिन्, “अहिले चिया, चाउचाउ, बिस्कुट बेच्दै छु । एनपीएलले रोजगारी त दियो, तर साना व्यापारीलाई हेर्ने दृष्टिकोण सुधार्नुपर्छ ।”

यही मंसिर २७ गतेसम्म चल्ने यो लिगले त्रिवि वरपरको सडकलाई २७ दिनको मेला बनाइदिएको छ । दर्शकको भीड, सवारीको जाम, मःम र चियाको बास्ना सबैले यो क्षेत्रलाई जीवन्त बनाएको छ ।

तर, स्टेडियमभित्रको कडा नियमले बाहिरको कमाइमा ‘डट बल’ लगाइदिएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्