site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली यू–१९ टोली एसिया कपमा छनोट

काठमाडौं । नेपाली यू–१९ टोली एसिया कपका निम्ति छनोट भएको छ । नेपालले शनिबार (मंसिर १३) सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

मलेसियाका मोहम्मद अक्रामले एक विकेट हासिल गरे ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भएको थियो । मलेसियाका हमजाह पंगीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका निम्ति नीतीशकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक/एक विकेट लिए ।

कुल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टिम आउँदो एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । यू–१९ एसिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदै छ । रासस

 

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्