site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
किसानको लागत उठ्ने गरी बढेको अण्डाको मूल्य कति पुग्यो ?

नारायणगढ । चिसो बढ्दै जाँदा अण्डाको खपत बढेको छ । भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । 

आजदेखि लागु हुने गरी नेपाली अण्डाले किसानको लागत उठ्ने गरी नयाँ मूल्य पाएको संघले जनाएको छ ।
 
शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागु हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । 

किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ दरअनुसार अति ठूलो (एक्स एल) अण्डा प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा  रु ५४५, मिडियम अण्डा रु ५३० र सानो अण्डा प्रतिपेटी रु ३२५० रहेको छ ।

अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट रु ४० ले वृद्धि भएको हो । भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको हो । 

उनका अनुसार जाडो महिनामा अण्डाको खपत बढ्ने गर्छ । पोखरेलले भने, “चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।”

गत साउनमा पनि रु ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको संघले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्