रगतको मूल्य
(कथा : होमशंकर बास्तोला)
कथाकार होमशंकर बास्तोला लामो समयदेखि लेखनमा सक्रिय छन् । केही अघि प्रकाशनमा आएको उनको पछिल्लो कथाकृति हो ‘रगतको मूल्य’ । यसअघि पनि उनका तीनवटा कथासंग्रह प्रकाशित भइसकेका छन् भने केही कविता र गजलका कृति पनि छन् ।
साहित्यिक पत्रकारितामा समेत सक्रिय लेखक बास्तोला कृतिभित्र लेखकीयमा लेख्छन्, “...प्रस्तुत कथासंग्रहभित्र विभिन्न विषयवस्तु र भावभूमिका कथाहरू रहेका छन् जुन पाठकले दृष्टिपात गरी यथार्थ रायसुझाव दिनुहुने नै छ ।”
कृतिको प्रकाशकीयमा लेखिएको छ, “...यसभित्रका कथाहरूले कौतुहल उमार्छन् । अब के हुन्छ भन्ने आशामा पाठक एकोहोरिँदा कथा सकिएको र अब पनि अझै कथा बाँकी छन्झैँ गरेर ।”
बास्तोलाको यस कृतिमा १९ वटा कथा समेटिएका छन् ।
साझा प्रकाशनद्वारा प्रकाशित १४४ पृष्ठको यस कृतिको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।
०००
वासन्ती यायावर
(निबन्ध : माधव काफ्ले)
नेपाली निबन्ध लेखनमा माधव काफ्लेको आफ्नै स्थान छ । मोफसलमा बसेर पनि निरन्तर साहित्य लेखनमा लागिपरेका काफ्लेको अर्को निबन्धकृति हो, ‘वासन्ती यायावर’ । यो नेपाली आख्यानशिल्पी मनु ब्राजाकीमाथि लेखिएका स्मृति–निबन्धहरूको सँगालो हो ।
प्रकाशकीयमा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे लेख्छन्, “विख्यात आख्यानशिल्पी मनु ब्राजाकीको जीवनशैली र व्यक्तित्वको यथार्थलाई केस्राकेस्रा केलाएर प्रस्तुत गर्न सफल छ यो कृति । ब्राजाकीबारेका कतिपय अज्ञात तथ्य यहाँ पढेर चकित हुन्छन् पाठक ।”
काफ्लेको यस स्मृति–निबन्धभित्र २७ वटा निबन्ध छन् ।
रचना प्रकाशनद्वारा प्रकाशित २३६ पृष्ठको यस पुस्तकको मूल्य भने तोकिएको छैन ।
०००
रामवाण
(व्यंग्य निबन्ध : रामकृष्ण ढकाल)
लेखक रामकृष्ण ढकालको व्यंग्यनिबन्धहरू संकलित कृति हो ‘रामवाण’ । यसअघि उनका अरू पनि पुस्तक प्रकाशित छन् ।
लेखकीयमा ढकालले लेखेका छन्, “व्यंग्य साहित्यको विधा होइन, विभूषण हो । यसको साधना पनि साहित्यका विधाहरूको जस्तै कठिन छ ।”
यस पुस्तकभित्र सानाठूला गरेर ५७ वटा व्यंग्य निबन्ध समेटिएका छन् ।
लेखक स्वयंले प्रकाशनमा ल्याएको १६० पृष्ठको यस निबन्धकृतिको मूल्य ५०० रुपैयाँ राखिएको छ ।
०००
अज्ञात यात्रा
(निबन्ध : चिरञ्जीवी दाहाल)
लेखक चिरञ्जीवी दाहालको बजारमा आएको निबन्धसंग्रह हो ‘अज्ञात यात्रा’ । कृतिकारका यसअघि ६ वटा पुस्तक प्रकाशित छन् ।
मुखबन्धमा कृतिकार दाहाल लेख्छन्, “...यो निबन्धसंग्रहमा जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका केही विषय यहाँ समावेश गर्ने प्रयास गरेको छु ।”
कृतिको भूमिकामा साहित्यकार केशवराज आमोदी लेख्छन्, “आख्यानको द्वारबाट साहित्यको सुन्दर महलमा प्रवेश गरेका निबन्धकार चिरञ्जीवीको विचार, चिन्तन र व्यक्तित्व उनका सिर्जनाहरूमा अवलोकन गर्न सकिन्छ ।”
यस कृतिभित्र दाहालका ३५ वटा निबन्ध रहेका छन् ।
कालीगण्डकी साहित्य परिषद, चितवनद्वारा प्रकाशित २०८ पृष्ठको यस पुस्तकको मूल्य ३३५ रुपैयाँ राखिएको छ ।
०००
संस्कृतिका सतिसाल
(जीवनवृत्त : सं. नर्मदेश्वरी सत्याल/रमेश पोखरेल)
प्रा.डा. बद्रीविशाल पोखरलेको सिर्जनात्मक जीवनवृत्त समेटिएको कृति हो, ‘संस्कृतिका सतिसाल’ । जसलाई सम्पादन गरेका छन् नर्मदेश्वरी सत्याल र रमेश पोखरेलले ।
पुस्तकको सम्पादकीयमा लेखिएको छ, “प्रा.डा. बद्रीविशाल पोखरेलले आफ्नो सिंगो जीवन नेपाली भाषा, साहित्य र संस्कृतिका सेवामा समर्पित गर्नुभएको छ । संस्कृतिका सतिसाल नामको यो कृति उहाँको संस्कृति र सांस्कतिक रूपान्तरणको परिकल्पना र प्रयोगसित घनिष्ठ रूपमा सम्बन्धित छ ।”
पुस्तकभित्र १६ भागमा पोखरेलका विविध आयामबारे अनेकानेक व्यक्तिले लेखेका आलेख समावेश छन् ।
राष्ट्रिय जनसाहित्यिक संघ नेपालद्वारा प्रकाशित ३२० पृष्ठको यस पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।
०००
दिलरुवा
(कविता : तोया गुरुङ)
नेपाली काव्यसाहित्यमा कवि तोया गुरुङको परिचय नयाँ होइन । उनै कवि गुरुङको अर्को काव्यकृति हो, ‘दिलरुवा’ । केही महिनाअघि यो कविताकृति प्रकाशनमा आएको हो । यसअघि उनका नौ कृति प्रकाशित छन् ।
कविताकृतिभित्र कवि गुरुङका ८६ वटा कविता संगृहीत छन् । एउटा कविताको हरफले भन्छ–
परपर हरियो रायो र मूला
हातबाट हुत्तिए बिजनहरू
समय तृप्ति बगे भेल हो या भ्रमहरू
पतकर, सेउला, तातो टिन पाता–पाता
बाफ दिए ठूलठूला भाँडाहरू बटुलेँ
फुके विस्फोटनका साइरन भन्छन्... (कद : पृष्ठ ४०)
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १३६ पृष्ठको यस कविताकृतिको मूल्य ३०० रुपैयाँ राखिएको छ ।
०००
आँखाभरिको अमेरिका
(यात्रासंस्मरण : गान्धीराज काफ्ले)
पत्रकार तथा लेखक गान्धीराज काफ्लेको अर्को कृति हो, ‘आँखाभरिको अमेरिका’ । यस नियात्राकृतिमा लेखकले अमेरिका भ्रमणका नालीबेली प्रस्तुत गरेका छन् ।
पुस्तकको लेखकीयमा नियात्राकार काफ्लेले लेखेका छन्, “यात्रा जीवन हो । कसैले लेखोस् वा नलेखोस् । लेखे पनि, नलेखे पनि मानिस यात्री नै हो । यात्राले उत्साह उमङ्ग जगाउँछ । गतिशीलता बढाउँछ, विस्मयसँग साक्षात्कार गराउँछ, कहिलेकाहीँ भाव पनि बनाउँछ, आनन्दित पार्छ, द्विविधा शंका दिन्छ र शंका निवारण पनि गर्छ; सबभन्दा ठूलो कुरा त यात्रानुभूतिका रङमै जीवन पल्लवित र पुष्पित हुन्छ ।”
पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, “गान्धीजीको लेखन सुस्पष्ट छ । यो पूर्ण साहित्यिक पाराको अति भावुकता र मनोबेगिक कल्पना जडित छैन, न त छ अति सामान्य सूचना जङ्गल । यी दुई प्रवृत्तिबीचको केही सूचना प्रकाशित गर्ने साथै सन्तुलित साहित्यिक शैलीमा विचार प्रस्तुत गर्ने इच्छाले निर्देशित छ ।’
यस कृतिभित्र लेखक काफ्लेका १९ वटा यात्रासंस्मरण आलेख समावेश गरिएको छ ।
ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित २५६ पृष्ठको यस पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ ।
०००
देशदर्शन
(यात्रा साहित्य : मधुसूदन पाण्डेय)
लेखक मधुसुदन पाण्डेयको यात्रासंस्मरणहरू समावेश कृति ‘देशदर्शन’ बजारमा आएको छ । यो पुस्तक केही समयअघि प्रकाशनमा आएको हो । पाण्डेयका यसअघि अरू पुस्तक पनि प्रकाशित छन् ।
यस कृतिमा रारा, मुक्तिनाथ, मनाङ, खप्तड, लुम्बिनी, कोसीटप्पु, स्वर्गद्वारी, श्रीअन्तु, सोलु, सिन्धुलीसहित ६४ स्थानका यात्रासंस्मरण समावेश छन् ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २६८ पृष्ठको यस पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।