विधानतः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पदावधि यही मंसिरमा सकिँदै छ । समयमै अधिवेशन गरेको भए यतिबेलासम्म नयाँ कार्यसमिति पनि बनिसकेको वा बन्ने चरणमा हुनुपर्ने हो । विधानमा विशेष र अप्ठ्यारो परिस्थितिमा एक वर्ष म्याद थप्ने प्रावधान पनि छ । तर, यो प्रावधान विगतमा अनुपयुक्त तरिकाले उपयोग पनि गरियो । यसपालि समयमै महाधिवेशन गर्न महामन्त्रीद्वयले पहल गर्दै थिए । तर, अधिवेशन तयारीका काममा संस्थापन पक्षले नियतवश आलटाल र अटेर गरी बस्यो ।
जेन-जी पुस्ताले भदौ २३ र २४ गते गरेको विद्रोह र विध्वंसले नेपालको राजनीतिक धरातललगायत धेरै क्षेत्रमा ठूलो भुइँचालो ल्यायो । समग्र देशको स्थिति र परिस्थितिले कोल्टे फेरेको छ र अवस्था अत्यन्त तरल र गम्भीर मोडमा पुगेको छ ।
उक्त घटनासँगै बहुमतको सरकारले राजीनामा दिएर भाग्नुमात्र परेन जननिर्वाचित संसद् विघटन हुनपुग्यो । ‘बडो जुक्तिले’ आवश्यकताको सिद्धान्तको टेको लगाएर अन्तरिम सरकार बन्यो । त्यो सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य चुनाव गराउने म्यान्डेट पाएको छ ।
तत्कालीन सरकारका प्रमुख केपी ओली अध्यक्ष रहेको नेकपा (एमाले)बाहेक अन्य दलहरूले निर्वाचनमा सहभागी हुने सार्वजनिकरूपमै बताएका छन् । कांग्रेसका महामन्त्री गगन थापाले ‘निर्वाचनमा भाग लिने र निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने’ उद्घोष गरेका छन् ।
तर, पुराना दलहरूप्रति जनमानस असन्तुष्टमात्र होइन आक्रोशित पनि छ । यिनले जनआवाज नसुनेकै कारण राज्यले विद्रोह र सँगै अकल्पनीय क्षति व्यहोर्नु परेको विश्वास छ । यस्तो अवस्थामा पार्टीहरू मत माग्न जाँदा यथास्थितिमा पुगे मत नदिनेमात्र होइन लाठो लिएर कुट्न आउन पनि बेर छैन ।
तसर्थ, कांग्रेसले जनतामाझ मत माग्न जाँदा फेरेको अनुहार र व्यवहारसहित जानुपर्छ । अन्यथा निर्वाचनमा नराम्ररी पराजित हुनसक्छ । यसको छनक अघिल्ला निर्वाचनमा नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूले पाएका मतबाट पनि मिलेको सकिन्छ ।
कांग्रेसले सकेसम्म नियमित अधिवेशन गरेर नभए विशेष महाधिवेशन (जो ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरिसकेको भएकाले बाध्यकारी पनि छ) मार्फत गहन छलफल गरी नेतृत्वमा नयाँ र जनप्रिय पात्रहरू अघि सार्नुपर्छ । साथै जनभावना अनुकूलका नीति तथा योजना प्रस्तुत गर्नुपर्छ । माथि भनिएझैँ नयाँ अनुहार, फेरिएको व्यवहारबाट मात्र मत माग्ने नैतिक बल मिल्छ ।
नयाँ अनुहार किन ?
अब पनि कांग्रेसले बीपी, गणेशमान र किसुनजीको तस्बिरकै भरमा भोट माग्न जाने हो भने जनताले पत्याउनेछैनन् । कांग्रेसमा हालीमुहाली गरेका केही नेताहरूका अनुहारमा दाग लागेको छ, चरित्रमा खोट छ । ती अनुहारहरू साबुनपानीले धोएर सफा देखिनेवाला छैनन् । त्यसैले यस्ता अनुहार लिएर जनतामाझ जाँदा थप बेइज्जतीबाहेक केही मिल्दैन । र, दाग लागेकै नेताहरूका खातिर पार्टी सती जानु पनि हुँदैन ।
सबैभन्दा पहिले छाँट्नुपर्ने भ्रष्टाचारमा मुछिएका वा आरोपित पात्र हुन् । जनमानसमा बढ्दो आक्रोशका एउटा कारण भ्रष्टाचारमा संलग्न नेताहरू दण्डित नहुनु र भ्रष्टाचार बढ्नु नै हो ।
कतिपयले सजाय पाए । कतिपय मुद्दा खेपिरहेछन् । धेरैजसो भने सत्ता, शक्ति र कानुनी छिद्रबाट उम्किए पनि जनमानसमा बदनाम छन् । यिनलाई पन्छाएपछि मात्र जनतालाई यो सन्देश दिन सकिन्छ । भ्रष्टाचारका दोषी र शंकास्पदलाई पनि स्थान दिनु हुँदैन । भविष्यमा भ्रष्टाचारविरुद्ध झन् निर्मम हुन्छौँ भन्ने प्रत्याभूति दिनुपर्छ ।
कांग्रेसमा जनतामाझ नजाने, निर्वाचनमा भाग नलिने तर समानुपातिक, मनोनित, सिफारिस वा ‘भेटी चढाएर’ सरकार, संसद् र पार्टीमा पद र लाभ लिइरहने थुप्रै पात्र छन् । कसैको चाकरी, कसैको पुरानो खानदान, कसैको नेता
पत्नीसँगको निकटताका कारण उनीहरू ठालु बनेका छन् । यस्ता पात्र जनतामा खलपात्र र कार्यकर्तामाझ सौताका रूपमा चिनिएका छन् । यिनलाई छाँट्न नसकिए मतदाताले पार्टीलाई नै छट्नीमा पार्नेछन् ।
समाजमा गुण्डागर्दी, आपराधिक पृष्ठभूमि, गैरकानुनी व्यापार वा अन्य नैतिक पतन मानिने फौजदारी आरोप लागेको व्यक्तिहरू पार्टीमा आश्रय पाएका छन् भन्ने जनगुनासो पनि छ । यिनलाई बाहिर नराखे मतदाताले कांग्रेसलाई घेराबन्दी गर्नेछन् ।
अर्काथरी ठालु भने पद ओगटेर बस्ने तर परफर्मेन्स नदिने खालका छन् । अघिल्ला आन्दोलन वा अभियानमा गरेको लगानीको ब्याजमात्र खाएर बस्ने खालका छन् । तिनले न कार्यकर्ता परिचालन गर्न सक्नछन् न जनतालाई आकर्षण गर्न सक्छन् । यस्ता ‘पत्रु’ पात्रलाई ससम्मान बिदा गरेमा मात्र पार्टी अगाडि बढ्न सक्छ । जनता परिवर्तन चाहन्छन् । यो मानवीय स्वभाव र प्राकृतिक नियम दुवै हो ।
एउटै कथा र शैलीका सिनेमा त हलमा सधैँ चल्दैन । बजारमा कपडाका डिजाइन त वर्षै पिच्छे फेरिन्छ । व्यापारीहरूले आफ्ना सामानका स्वरूप पनि फेरिरहन्छन् । तर पार्टीका नेता, सरकारका प्रधानमन्त्री, मन्त्रीहरू भने तीसौं वर्षदेखि एउटै अनुहारका छन्, त्यो पनि डेलिभरी दिन नसक्नेहरू । तिनीहरू देख्दा भोग्दा वाक्क दिक्क भइसकेका छन् । अर्थात् उही उही अनुहार, उनै शैलीका नेताहरूलाई देख्दा जनता आजित भइसकेका छन् । पुराना पार्टीहरूले यो मनोविज्ञान नबुझ्ने हो भने सकिन अब समय लाग्दैन ।
बदलिनुपर्ने व्यवहार
राजनीतिक पार्टी निश्चित सिद्धान्त, विचार र नीतिकार्यक्रमप्रति प्रतिबद्ध संगठन हो । कांग्रेसलाई जनताले लोकतान्त्रिक मूल्य मान्यता, व्यक्तिगत स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, निजी सम्पत्तिको संरक्षणजस्ता सिद्धान्तका कारण साथ दिएका हुन् । तर पार्टीले चुनाव जित्नमात्र होइन सत्तामा पुग्नसमेत प्रतिकूल विचार सिद्धान्त भएका दलसँग पनि गठबन्धन गर्ने, सत्ता बाँडफाँट गर्ने प्रवृत्तिले जनतामा वितृष्णा बढाएको छ ।
हिजो कांग्रेसका लागि परिवारका सदस्य गुमाएका, कुटाइ खाएका, घरबार लुटिएका, विस्थापित हुनुपरेका मतदाताले आज तिनै कुट्नेलखेट्ने दलसँग कांग्रेस सरकार गठबन्धनमा बसेको देख्दा मन कुँडिएको छ ।
आगामी दिनमा कांग्रेसले विचार, सिद्धान्त र नीतिमा विचलित नहुने ठोस आधार र विश्वास जनतालाई दिनैपर्छ । यसका लागि पुराना असफल, अलोकप्रिय तथा विवादास्पद पात्र हटाएर नीति, विचार र नियतमै खरो नयाँ नेतृत्व अघि सार्नुपर्छ ।
कांग्रेसमा अन्य पार्टीहरूभन्दा आन्तरिक लोकतन्त्र बढी छ भनी नेतृत्वले नाक फुलाउनु उचित पनि नहोला । यी कुरा बोल्न, विरोध गर्न र पार्टीको निर्वाचनमा मात्र सीमित छ । कार्यकर्ताले बोलेका कुरा नसुनिएपछि विरोधका आवाज मनन नगरेपछि यसको के अर्थ रहन्छ र ?
पार्टीभित्र लोकतन्त्र प्रविधिक बहुमतको भारमा थिचिएको छ । त्यस्तो बहुमतका सहयोगी पात्रहरू भने माथि भनिएका जस्ता चाटुकार तथा नेतृत्वले मनोनीत गरेका सदस्य तथा पदाधिकारीहरू नै हुन् । यसको ताजा उदाहरण केन्द्रीय समितिको बैठकमा निर्णय नगरेर नियमित अधिवेशनको समय पनि घर्काउने अनि विशेष अधिवेशन पनि हुन नदिन भाँजो हाल्ने प्रवृत्तिले स्पष्ट पारेको छ ।
यतिखेरको पार्टी प्राविधिकरूपमा बहुमत निर्माण गर्ने चाटुकार, मनोनीत सदस्य र चाप्लुसहरूको भरमा चलेको छ । केन्द्रीय समितिको बैठकमा निर्णय नलिएर अधिवेशन टार्ने, विशेष महाधिवेशन हुन नदिने प्रवृत्तिले यो स्पष्ट देखाएको छ ।
कांग्रेसले विगतमा लोकतन्त्रका लागि गरेको संघर्षको ब्याज खाएर आजसम्म कहिलेकाहीँ सत्तामा जाने मौका पायो । तर अब पुरानै शैलीले भविष्यमा सत्तामा पुग्न अझ कठिन हुँदै जानेछ । केही युवा नेता गगन थापा, विश्वप्रकाश शर्माहरू बाहेक अधिकांश नेतृत्व जनसम्पर्क, संवाद र सामाजिक मनोविज्ञान बुझ्न असफल बन्दै गएका छन् ।
युवा पुस्तासँग दूरी बढ्दो छ । सबै समुदायसँग निरन्तर संवाद, अन्तरक्रिया गर्न सक्ने नयाँ नेतृत्व अहिले अत्यावश्यक छ ।
अर्को ठूलो समस्या भनेको अतिदलीयकरण हो । कम्युनिष्टहरूको संगत र सिकोले हो कि कांग्रेसमा पनि यो विकृति मौलाएको छ । सबै संस्थामा पार्टीको मान्छे हुनुपर्ने, नियुक्तिमा योग्यता क्षमताभन्दा दलका सदस्य खोज्ने जस्ता गलत अभ्यास रोगकै रूपमा स्थापित भएको छ । नियुक्ति, पद, जिम्मेवारी सबैमा ‘आफ्नो मान्छे’ खोज्ने, योग्यताभन्दा पार्टी सदस्यता हेर्ने, मनोनयनका लागि पैसा बुझाउनुपर्ने गम्भीर आरोपले छवि खस्किएको छ ।
अन्त्यमा
यावत् विकृति, विसंगति र बदलिनुपर्ने व्यवहारहरू एकै आलेखमा समेट्न सकिँदैन । तर, कांग्रेसले अब तत्काल अधिवेशन गरी नयाँ नेतृत्व, नयाँ अनुहार, स्पष्ट विचार नीति र जनअनुकूल व्यवहारसहित आगामी चुनावका लागि तयार हुनैपर्छ ।
यो कांग्रेसकै भलोका लागिमात्र होइन मुलुकको विकास, लोकतन्त्रको अभ्यास र राष्ट्रको भविष्यका लागि पनि अनिवार्य आवश्यकता हो । त्यसैले आन्तरिक रोइलो र खिँचातानीमा नअल्झी, जनभावना र परिवर्तित सन्दर्भ बुझ्ने योग्य व्यक्तिलाई नेतृत्व दिएर युवापुस्ताको व्यवस्थापनसहित पार्टी सञ्चालन गर्नु बुद्धिमानी हुनेछ । नियमित अधिवेशन गर्न भ्याउन नसकिए पनि विशेष महाधिवेशनको माग उठिसकिएको छ र विधानतः त्यो अब अपरिहार्य छ ।
(नेपाली कांग्रेस काठमाडौं क्षेत्र–४ प्रदेशसभा सल्लाहकार समिति सदस्य)