सुर्खेत । कर्णाली करिडोरमा काम गर्ने क्रममा बिहीबार सुक्खा पहिरोमा परी एकजना बेपत्ता भएका छन् ।
कालिकोट पचालझरना गाउँपालिका–७ का पृथी बोहोरा कर्णाली करिडोरमा काम गर्ने क्रममा पहिरोले पुरिँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब निरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।
पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले बिहीबार पहिरो पन्छाउने काम गरे पनि पुन त्यसमा पहिरो खस्दा कठनाई भएका कारण पहिरोमा परेका बोहोरालाई निकाल्न नसकिएको जानकारी दिइन् ।
“अहिले पुनः पहिरो खसेको ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ,” उपाध्यक्ष बमले भनिन्, “अहिलेसम्म शव भेटिएको छैन ।”
बिहीबार बेलुका करिब ३ः३० बजे खसेको पहिरोमा पुरिएका बोहरालाई स्थानीय प्रत्यक्षदर्सीले पहिरोमा पुरिएको देखेपछि प्रहरीले उद्धारकार्य सुरु गरेको थियो ।
उद्धार कार्य गरिरहेको अवस्थामा पुनः पहिरो जाँदा उद्धारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ । हुम्ला करिडोरको काम नेपाली सेनाले जिम्मा लिएको छ । सेनाले नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ ।