काठमाडौं । जेनजी प्रदर्शनीका बेला आपराधिक समूहले देशको प्रशासकीय केन्द्र सिंहदरबारदेखि संसद् र सर्वोच्च अदालतसम्म जलाए । भदौ २४ को दर्शनमा यीबाहेक प्रदर्शनकारीले ललितपुर सैँबुस्थित मन्त्री क्वार्टर तथा शीतल निवास राष्ट्रपति भवनसम्म खरानी पारे ।
प्रहरीका कार्यालयहरू त्यसैगरी आगजनीमा परे । प्रहरीको तथ्यांक अनुसार, उपत्यकामा मात्रै २२८ वटा भवनमा आगजनी भएको थियो । तीमध्ये सर्वोच्च अदालतसहित ५ वटा त न्यायालयका भवन जलाइएका थिए ।
प्रहरी सरकारी कार्यालयहरू आगो लगाउनेहरूको खोजी गर्दै छ ।
उता प्रदर्शनका क्रममा आगजनीमा परेका राज्यका महत्वपूर्ण मानिने भवनहरूको खरानीमाथि पनि प्रहरीले अनुसन्धान तीव्र बनाइरहेको छ । प्रदर्शनकारीले सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, मन्त्री क्वार्टर तथा सर्वोच्च अदालतको आगो लामो समयसम्म निभाउन हम्मेहम्मे परेको थियो ।
ती भवनहरूमा आगजनी गर्न प्रदर्शनकारीले डिजेल, पेट्रोलबाहेक अन्य कुनै केमिकल प्रयोग गरेको आशंकामा जलेको भवनका खरानीबारे अनुसन्धान थालेको हो । विशेष टोली बनाउँदै प्रहरी प्रधान कार्यालयले संवेदनशील पाँचवटा भवनमा भएको आगजनीबारे अनुसन्धान थालेको थियो ।
प्रहरीको टोलीले आगजनी हुँदा देख्ने प्रत्यक्षदर्शीदेखि आगजनीमा संलग्नहरूसँग आगो लगाउँदा प्रयोग गरेका केमिकलबारे सोधपुछसमेत गरेको थियो ।
तर अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, भवनमा आगजनी गर्दा पेट्रोल–डिजेलबाहेक अन्य रसायन वा कुनै केमिकलको प्रयोग भएको भने खुलाउन सकेको छैन ।
एक अधिकारीले भने, ‘‘हामीले भवन कसरी त्यस्तो दनदनी आगो लाग्यो भनेर देख्ने र पक्राउ परेकाहरूसँग समेत धेरै सोधपुछ गरेका छौँ । तर, पेट्रोल र डिजेलको प्रयोग भएको खुले पनि अन्य केमिकल प्रयोग भएको खुलेको छैन ।’’
प्रहरीले सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवनसहितको खरानीको समेत परीक्षण गरेको थियो । प्रहरीले आफ्नै सामाखुशीस्थित विधिविज्ञान प्रयोगशालामा खरानीको परीक्षण गरेको हो । तर, विधिविज्ञानबाट समेत केमिकल प्रयोग भएको कुनै संकेत भेटिएको छैन ।
ती अधिकारीका अनुसार, प्रहरीको विधिविज्ञानबाट कुनै शंकास्पद संकेत फेला नपरेपछि खरानीको थप परीक्षण निम्ति भारत पठाउने तयारी गरेको छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘आगजनीमा कुनै संवेदनशील केमिकल प्रयोग भएको खरानी परीक्षणबाट पनि नदेखिएपछि हामी थप कन्फर्मका लागि भारत पठाउन लागेका हौँ । तर, शंकास्पद देखिएर होइन ।’’
काठमाडौं प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार, जेनजी प्रदर्शनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा उजुरी परेको छ । जसमा २२ वटा उजुरी व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत/व्यापारिक प्रतिष्ठानले दिएका छन् ।
उजुरीका आधारमा प्रहरीले आपराधिक गतिविधिमा संलग्न २६७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये ८७ जना हाजिर जमानीमा छुटेछन् । ११३ जनामाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
मुद्दा दर्ता भएकामध्ये ३३ जना अदालतको आदेशले धरौटीमा छुटेका छन् र ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । भदौ २३ र २४ को जेनजी प्रदर्शनमा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । देशभरको प्रदर्शनका क्रममा भने ७६ जनाले ज्यान गुमाएका थिए ।
घरका खरानी परीक्षण हुँदै
प्रहरीले महत्वपूर्ण कार्यालयबाहेक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही अन्य शीर्ष नेताहरूका जलेका घरको खरानीको समेत परीक्षण गरिरहेको छ ।
प्रहरी उच्च अधिकारीका अनुसार, उनीहरूका घरमा आगो लगाउँदा पनि कुनै रसायन प्रयोग भएको र स्रोत नखुलेको रकमसमेत जलेको आशंकाका कारण खरानी परीक्षण हुन लागेको हो ।
एक प्रहरी अधिकारीका अनुसार, उनीहरूको घरको खरानीबारे प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको टोलीले अनुसन्धान गरिरहेको छ ।
