काठमाडौं । ओपनर विनोद भण्डारीको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध सात विकेटको जित निकालेको छ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमको यो लगातार चौथो जित हो ।
जितसँगै सुदूरपश्चिम प्लेअफनजिक पुगेको छ । प्रतियोगितामा चौथो खेल खेल्दा लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीको भने प्लेअफ सम्भावना कठिन बनेको छ ।
बिहीबार (मंसिर ११) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ओपनर विनोदले सर्वाधिक ६९ रन बनाए । अविजित रहेका विनोदले ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा विनोदको यो पहिलो अर्धशतक हो ।
३९–२ को स्थितिबाट विनोदले तेस्रो विकेटका निम्ति आरिफ शेखसँग ९९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितसम्म डोर्याएका थिए । आरिफले ३७ बलमा चार चौका र एक छक्कासहित ३९ रन थपे ।
त्यसअघि, सुदूरपश्चिमले क्रिस लिनलाई १६ र जस ब्रोनलाई नौ रनमा गुमाएको थियो ।
लुम्बिनीका रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र तिलक भण्डारीले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधक ३५ रन बनाए । उनले ५२–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति दिलीप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, हेमन्त धामीले १४.१ ओभरमा रोहितलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएपछि लुम्बिनीको इनिङ सुस्ताएको थियो ।
दिलीप नाथले २९ बलमा दुई चौका र एक छक्कासहित ३१ रन थपे । ओपनरद्वय डी‘एर्सी शर्टले र सुमित महर्जनले समान १८ रन जोडे ।
अफगानिस्तानका अलराउन्डर गुलबद्दिन नैबले पनि ११ रन मात्र बनाउन सके । लुम्बिनीका रुबेन ट्रम्पेलमन डक भए । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
सुदूरपश्चिमका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । तीन विकेट लिएका हर्मित सिंहले ३.४ ओभरमा २२ रन मात्र खर्चिए । हेमन्त धामीले दुई, स्कट कुग्गेलिनका नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन र कर्णली याक्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।
लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । तर, त्यसयता लुम्बिनीले कर्णाली याक्ससँग नौ विकेट र काठमाण्डू गोर्खाजसँग २२ रनको हार व्यहोरेको थियो ।