काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओसमा ‘अवैध धन्दा’मा संलग्न नेपालीलाई ती देश हेर्ने नेपाली दूतावासबाट प्रमाणीकरण नगरी व्यक्तिगत श्रम स्वीकृति दिएको खुलेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिई म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओस गएको र ‘अवैध धन्दा’मा संलग्नहरू अलपत्र परेपछि ती देश हेर्ने नेपाली दूतावासलाई उद्धार गरी नेपाल फर्काउन भ्याई नभ्याई भएको छ ।
म्यानमार र थाइल्यान्डमा नेपाली दूतावास छन् । थाइल्यान्डकै नेपाली दूतावासले कम्बोडिया र लाओस समेत हेर्नेगर्छ ।
पछिल्लो तीन वर्ष चार महिनाको अवधिमा म्यानमार र थाइल्यान्डमा रहेका नेपाली दूतावासले तीन सयभन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल फर्काएका छन् ।
यसरी उद्धार गरी नेपाल आएका अधिकांश आकर्षक रोजगारीको प्रलोभनमा परेर ती देश पुगेको र त्यहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतका काममा संलग्न थिए ।
२०८२ वैशाख १ गतेयता मात्र थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले ६७ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काएको छ । नेपाल फर्कने पर्खाइमा अझै म्यानमारको म्यावडीमा २३ जना, थाइल्यान्डको मेसोटमा दुईजना र कम्बोडियामा चारजना गरी २९ जना नेपाली छन् ।
म्यानमार, लाओस र कम्बोडियामा ठूलो संख्याका नेपाली ‘ठगी धन्दा’मा, दूतावासलाई उद्धार गर्न भ्याइनभ्याइ
जति पनि नेपालीलाई ती क्षेत्रबाट उद्धार गरी नेपाल फर्काइएको छ, प्रायः सबै वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिई जानेहरू छन् । तर विभागले म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावाससँग प्रमाणीकरण नगरी उनीहरूलाई श्रम स्वीकृति दिएको बुझिएको छ ।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बाह्रखरीसँग भने, “हालसम्म श्रम स्वीकृति दिने वा नदिने भन्ने विषयमा हामीसँग वैदेशिक रोजगार विभागबाट कुनै पत्र प्राप्त भएको छैन । उनीहरू काम गर्न आएको कम्पनी के कस्तो हो भन्ने विषयमा कुनै जानकारी मागिएको छैन ।”
श्रम स्वीकृति दिँदा काम गर्न जाने कम्पनी के कस्तो हो ? त्यसबारे नेपाली दूतावाससँग जानकारी लिएपछि (प्रमाणीकरण) मात्र दिने गरिन्छ ।
तर व्यक्तिगत श्रम स्वीकृति लिई म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओस जाने नेपाली जुन कम्पनीमा काम गर्न जान लागेका हुन् वा गएका हुन् त्यस सम्बन्धमा दूतावाससँग कुनै जानकारी विभागले मागेको छैन ।
श्रम स्वीकृति प्रदान गर्नुअघि प्रमाणीकरण गर्ने सम्बन्धमा जानकारी माग भएको वा नभएको भन्नेबारे बाह्रखरीले म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेसँग पनि जिज्ञासा राखेको थियो ।
“श्रम स्वीकृति दिनुअघि दूतावासको प्रमाणीकरण आवश्यक पर्छ । तर पछिल्ला वर्षहरूमा हामीसँग कुनै व्यक्तिका हकमा पनि श्रम स्वीकृति दिने सम्बन्धमा कुनै जानकारी मागिएको छैन,” म्यानमारका लागि नेपाली राजदुत घिमिरेले भने, “हामीले सम्बन्धित कम्पनी ठिक छ भनेर पत्र पठाएपछि मात्र विभागले त्यो कम्पनीमा काम गर्न जानेगरी श्रम स्वीकृति प्रदान गर्ने हो ।”
‘अवैध धन्दा’का लागि पनि श्रम स्वीकृति !
विभागले दूतावासबाट प्रमाणीकारण नगरी श्रम स्वीकृति दिँदा ठूलो संख्यामा नेपालीले म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओसमा दुःख पाइरहेका मात्र छैनन् आपराधिक क्रियाकलापमा पनि संलग्न भएका छन् ।
“श्रम बजार खुला गरिएका देशमा जानेलाई विभागले श्रम स्वीकृति दिने गरेको छ । खाडी राष्ट्र र मलेसिया जानेहरूलाई सम्बन्धित दूतावासबाट प्रमाणीकरण नगरी श्रम स्वीकृति दिँदैनौं । युरोप, अमेरिकालगायतका कतिपय देशमा प्रमाणीकरण आवश्यक पदैन,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले बाह्रखरीसँग भने ।
म्यानमार, कम्बोडिया, थाइल्यान्ड र लाओसबाट आफूहरू ठगिएको भनेर कसैले विभागमा उजुरी नदिएको प्रवक्ता सिवाकोटीले बताए ।
विभागको तथ्याङ्कअनुसार, बितेको चार वर्ष चार महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर ७२३ जना नेपाली कम्बोडिया, म्यानमार, थाइल्यान्ड र लाओस गएका छन् । २०७८ साउन १ गतेदेखि २०८२ कात्तिक मसान्तसम्मको अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिई ४१२ जना कम्बोडिया, २३३ जना थाइल्यान्ड, ७३ जना लाओस र ५ जना म्यानमार गएको देखिन्छ ।
थाइल्यान्ड, लाओस र कम्बोडियाको कप्पनीमा काम गर्न जानेभन्दै श्रम स्वीकृति लिएर जानेहरू पनि म्यानमार पुग्ने गरेको पाइएको छ । म्यानमारको म्यावडीबाट मात्र पछिल्लो तीन वर्ष चार महिनाको अवधिमा २६४ जना नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ । उनीहरू सबैलाई त्यहाँ अवैध धन्दा (ठगी) मा लगाइएको थियो ।
विभागको तथ्याङ्क अनुसार, व्यक्तिगत श्रम स्वीकृति लिएर आर्थिक वर्ष २०७८/७९ मा ८७ जना, २०७९/८० मा ११५ जना, २०८०/८१ मा १४७ जना, २०८१/८२ मा २७९ जना र चालु आर्थिक वर्ष २०८२/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) ९५ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड गएका छन् ।
पछिल्ला वर्षको तथ्याङ्कले व्यक्तिगत श्रम स्वीकृति लिएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जाने नेपालीको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ ।
