site stats
बाह्रखरी :: Baahrakhari
देश
दर्ता भएका संस्थाले विधानविपरीत काम गरेपछि सीडीओ कार्यालयले बनायो छानबिन समिति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयमा दर्ता भएका संघ-संस्थाहरूले विधानविपरीत गतिविधि गरेको भन्दै छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ताथा प्रवक्ताले दिएको जानकारीअनुसार त्यस्ता संघ संस्थाहरूका कार्यसमितिले मनोमानी ढंगले काम गरेको, आर्थिक अनियमितता हुने गरेको लगायतका उजुरीहरू आएको थियो ।

"जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही संघ-संस्थाहरूमा विधानविपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायतका विषयहरूमा बारम्वार गुनासो एवं उजुरी प्राप्त भएको सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ," बुधबार जारी गरिएको सूचनामा भनिएको छ ।

यस प्रकारको संघ-संस्थाहरूको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको जानकारी दिइएको छ ।

"संस्थाका विवादित विषयमा समितिले छानबिन गरी प्रतिवेदन पेस गरेपश्चात् मात्र त्यस प्रकृतिका संस्थासम्बन्धी थप आवश्यक निर्णय हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ," सूचनामा भनिएको छ, "अन्य संस्थाहरूको हकमा नियमित रूपमा संस्था दर्ता, नवीकरण जस्ता कार्यहरू निरन्तर सुचारु हुने व्यहोरा समेत जानकारी गराइन्छ ।"

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्