काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर पुर्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनानुसार आज तःबहाल ल्याइएको हो ।

गुठियारहरूले निकालेको विशेष साइतअनुसार बुङ्मती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौं उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याइएको हो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

तस्बिर : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।