बुटवल । लुम्बिनी प्रदेशमा चार महिनाको अवधिमा १७६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटना भई सो संख्यामा मानिसहरूले ज्यान गुमाएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार, यस अवधिमा प्रदेशभर दुई हजार ३७० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा चार हजार ८२ जना घाइते भएका छन् ।
कार्यालयका डीएसपी दिपेश बस्यालका अनुसार, पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ्दो क्रममा छ, जसले प्रदेशमा सडक सुरक्षा चुनौती झनै गम्भीर बनेको मान्न सकिन्छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा भएको डीएसपी बस्यालले बाह्रखरीलाई जानकारी दिए । रुपन्देहीमा मात्रै ७८९ दुर्घटना भएका छन् । त्यसपछि बाँकेमा ४०५, बर्दियामा २८८ र कपिलवस्तुमा २६१ दुर्घटना भएका छन् ।
नवलपरासी पश्चिम, दाङ, पाल्पा, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी र रुकुम पूर्वमा पनि दुर्घटना भएका छन् । समथर भू–भाग भएका जिल्लामा दुर्घटनाको दर तुलनात्मक रूपमा बढी देखिएको ट्राफिक प्रहरीको विश्लेषण छ ।