site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्च जलाउनुअघि फुटाइएको थियो सीसीटीभी, यस्तो छ पक्राउ परेकाको पृष्ठभूमि

काठमाडौं  । प्रहरी टोलीले पछिल्लो समय जेनजी प्रदर्शनका बेला सर्वोच्च अदालत जलाउने गिरोहको खोजीमा छ ।  भदौ २४ को साँझ अराजक समूहले सर्वोच्च अदालत जलाएको थियो । त्यसो त, सर्वोच्चबाहेक २४ भदौमा देशभरका प्रहरी कार्यालय तथा सरकारी र निजी घरहरूसमेत जलाएका थिए ।

त्यतिबेला सबैभन्दा बढी क्षति उपत्यकामा भएको थियो ।  जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार उपत्यकामा मात्र दुई सय २८ वटा भवनमा आगजनी भएको थियो ।  सर्वोच्च अदालतसहित पाँच अदालत भवन जलाएका थिए, प्रदर्शनकारीले । सोमबारसम्म प्रहरीले सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको विवरण सार्वजनिक गरेको छ ।

काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घलेसहित पाँच जना छन् । 

घटनालगत्तै जेनजी प्रदर्शनमा अवाञ्छित क्रियाकलाप गर्नेहरूलाई पक्राउ गर्न थालेको थियो । प्रहरीले पछिल्लो समय सर्वोच्च अदालत तथा न्यायालयहरू जलाउनेहरूको खोजी तीव्र पारेको हो ।

सर्वोच्च अदालत तथा विशेष अदालतले आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीमा निवेदन समेत दिएका थिए ।  प्रहरीले सर्वोच्च अदालत जलाउँदा खिचिएको फोटो तथा भिडियोका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरेको हो ।

प्रहरीले संलग्न अन्य व्यक्तिसमेत पहिचान भइसकेको दाबी गरेको छ ।  काठमाडौं प्रहरीमा जेनजी प्रदर्शनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित एक सय ४ उजुरी परेका छन् ।  जसमा २२ वटा उजुरी व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत/व्यापारिक प्रतिष्ठानले दिएका छन् ।

ती उजुरीपछि अनुसन्धान थालेको काठमाडौं प्रहरीले यसबीचमा कसूर स्थापित गरी एक सय ५४ वटा मुद्दा दर्ता गरेको छ ।  आपराधिक गतिविधिमा संलग्न २६७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये ८७ जना हाजिर जमानीमा छुटेका छन् ।

एक सय १३ जना अझै प्रहरी थुनामै छन्, तिनीहरूमाथि अनुसन्धान जारी छ ।  मुद्दा दर्ता भएकामध्ये ३३ जना अदालतको आदेशले धरौटीमा छुटेका र ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।  देशभर भएको प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

यस्तो छ सर्वोच्च अदालत जलाउनेहरूको पृष्ठभूमि

प्रहरीले सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पक्राउ गरेकामध्ये ललितपुर बस्ने ‘सम्राट’ भन्ने राजु परियार यसअघि नै प्रहरीको हतियार लुटपाटमा पक्राउ परेर थुनामा छन् । उनीविरुद्ध पटक–पटक गरी प्रहरीमा १० वटा अपराधका मुद्दा चलेको रेकर्ड भेटिएको थियो । 

प्रहरीको लुटिएको हतियार बोकेर ठाउँ–ठाउँ पुगेको उनको फोटो र भिडियोका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसरी नै पक्राउ परेका एलेक्स भन्ने कुमार पराजुली ठमेल गल्कोपाखाको ‘द कुल बार’ का म्यानेजर भएको खुलेको छ ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–९ का पराजुली पनि प्रहरीबाट लुटिएको हतियार लिँदै सर्वोच्च अदालतमा आगजनी हुँदै गर्दा भित्र प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ । पराजुलीमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यसरी नै सर्वोच्च अदालत आगजनी गरेको आरोपमा पक्राउ परेका अर्का आरोपी ललितपुर महालक्ष्मी नगरपालिका–५ का ‘ब्राउन’ भनिने शशि श्रेष्ठमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी पनि पटक–पटक लागूऔषध मुद्दामा थुनामा पुगेको देखिएको छ ।

उनी हाल प्रहरीको थुनामा छन् । उनीसमेत प्रहरीको हतियार लुटेर सर्वोच्च अदालत पुगेको भिडियो फुटेजमा देखिएको थियो । 

यसरी नै ‘सर्वोच्च अदालत जलायौँ’ भन्दै उत्तेजित अभिव्यक्ति दिँदै सर्वोच्चबाट बाहिरिने झापा भद्रपुरका ज्योति थापामाथि समेत प्रहरीले अनुसन्धान जारी राखेको छ । उनी पनि प्रहरीको थुनामा छन् । प्रहरीको अनुसन्धानका क्रममा पहिला सर्वोच्च अदालतको सीसीटीभी तोडफोड गरी आगजनी गरेको खुलेको छ । 

प्रहरीले सामाजिक सञ्जाल र समाचारमा प्रकाशित फोटो/भिडियोका आधारमा पक्राउ गर्ने क्रम निरन्तर राखेको छ ।
 

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्