site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आज यो वर्षको हालसम्म कै चिसो, तराईमा लाग्न थाल्यो हुस्सु
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज ६.४ डिग्री सेल्सियस रहेको छ । बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको हो । 

“काठमाडौंको न्यूनतम तापक्रम आज ६.४ डिग्री सेल्सियस रहेको छ । यो आजसम्मको यो वर्षको न्यूनतम तापक्रम हो,” मौसमविद् हरिप्रसाद दाहालले बाह्रखरीसँग भने, “हिजो यही समयमा काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो ।” विस्तारै तापक्रम घट्दै जाने उनले जानकारी दिए । 

काठमाडौंमा आज दिउँसो उच्चतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् दाहालले बताए । 

बुधबार बिहान ५ः४५ मा जुम्लाको न्यूनत तापक्रम माइनस ४.८, डडेलधुराको ३.४, धनगढीको १०.२, जनकपुरको १४ तथा ओखलढुंगाको ९.४ डिग्री सेल्सियस रहेको छ । 

तराइका केही जिल्लामा हुस्सु र कुहिरो समेत लाग्न थालेको छ । धनगढी, भैरहवा, सिमरा, विराटनगरलगायत स्थानमा हुस्सु लागेको छ । 

“तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । तर, विमान उडान र अवतरणमा समस्या हुने गरी बाक्लो हुस्सु भने लागेको छैन,” मौसमविद् दाहालले भने, “हुस्सु लाग्न थालेसँगै चिसो भने बढ्न थालेको छ ।” 

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्