विराटनगर । कोसी प्रदेशमा मदरसा शिक्षा बोर्ड गठन गर्न मुस्लिम समुदायले माग गरेका छन् ।
कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै मुस्लिम समुदायले बोर्ड गठनको माग गरेका हुन् ।
मुस्लिम समाज मोरङ, विराटनगरका पदाधिकारीले मंगलबार मुख्यमन्त्री कार्कीलाई भेटेका थिए । समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकारसहितको बोर्ड गठन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्था सञ्चालनमा रहेको उल्लेख छ ।
ती संस्थाले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आए पनि आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभाव हुँदा पठनपाठनमा कठिनाइ भइरहेको जनाएका छन् । यस्ता अभाव हुन नदिन बोर्ड गठन अत्यावश्यक बनेको समाजको तर्क छ ।
समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीति स्पष्ट पारेकाले प्रदेश सरकारले यस दिशाामा कदम चाल्नुपर्ने माग राखेको छ ।
ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायको मागलाई गम्भीर रूपमा लिएको बताउँदै प्रदेश सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै प्रदेश सरकारले सबै धर्म तथा संस्कृतिको संरक्षण र सम्मान गर्न तत्पर रहेको उनको भनाइ थियो ।