site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बन्दीपुरका होटेलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

तनहुँ । बन्दीपुरमा सात महिनामा २१ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए । 

“यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् ,” उनले भने, “त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।”

उनका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् ।

आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । 

कात्तिक र मंसिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको संख्या बढेको छ । 

विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । 

यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटेल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उनले भने । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्