site stats
बाह्रखरी :: Baahrakhari
खेल
हाम्रो ह्याट्रिक जितले अरू टोलीमाथि दबाब परेको छ : दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ह्याट्रिक जित निकालेपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य टोलीमाथि दबाब सिर्जना गरेको बताएका छन् ।

सोमबार कर्णाली याक्सविरुद्ध ४५ रनको फराकिलो जित निकालेपछि ‘पोस्ट म्याच कन्फरेन्स’मा ऐरीले लगातार तीन जितले प्रतियोगिताको प्लेअफमा पुग्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

ऐरीले कीर्तिपुरको पिचको अवस्था हेरेर आफूहरूले पहिले नै ‘हाई स्कोरिङ’ म्याच नहुने आकलन गरेको पनि बताए ।

‘‘हाम्रा खेलाडीहरूले पिचको अवस्थाअनुरूप खेले । ब्याटिङमा सोचेजस्तो धेरै स्कोर नबने पनि बलिङ युनिटले उत्कृष्ट प्रदर्शन गर्दा नतिजा हाम्रो पक्षमा आयो,’’ उनले भने ।

टिमको निरन्तर राम्रो प्रदर्शनले एक कप्तानका रूपमा आफ्नो मनोबल उच्च रहेको र त्यसले मैदानमा थप जिम्मेवारीका साथ खेल्न प्रेरित गरेको उनको भनाइ छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटियो ।

खेलमा कप्तान ऐरीले ‘कप्तानी इनिङ’ खेले । उनले ब्याटिङतर्फ सर्वाधिक ३९ रन बनाए भने बलिङतर्फ चार ओभरमा २३ रन खर्चेर ४ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’समेत बने ।

सुदूरपश्चिमले यसअघि काठमाडौं र पोखरालाई पराजित गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्