काठमाडौं । यतिबेला अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति दिएको विषय उत्कर्षमा छ । यसै विवादको विषयमा फरक-फरक जेनजी समूहले स्वकीय सचिव श्रेष्ठको बर्खास्तिको माग गर्दै विज्ञप्ति नै जारी गरे ।
जेनजीको मर्मविपरीत सरकारले नातेदारलाई नियुक्ति दिलाएको भन्दै द काउन्सिल अफ जेनजी (सुधन गुरूङ समूह), जेनजी फ्रन्ट (रक्षा बम समूह), गरिखान देउ (मिराज ढुंगाना समूह), जेनजी मुभमेन्ट समूहले सामाजिक सञ्जालमा सरकारको विरोध गरिरहेका थिए ।
गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सत्तापलट भएको थियो । साेही प्रदर्शनीपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । प्रधानमन्त्रीकै स्वकीय सचिवले सचिवालयमा श्रीमती र नजिकका व्यक्तिलाइ नियुक्ति दिएको विषय बाहिरिएपछि जेनजी अगुवाहरू आक्रोशित बनेका हुन् ।
सोही क्रममा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने र खबरदारी गर्ने उद्घोष पनि गरिसकेका थिए । त्यसैअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेदेखि नै जेनजी अगुवाहरू उपस्थित हुन थाले ।
सुधन समूहको प्रतिनिधित्व गर्दै जेनजी अगुवा ओजस्वीराज थापासहितको टोली सबेरै प्रधानमन्त्री कार्यालय पुगेको थियो । उनी भन्छन्, "सबेरैदेखि हामी यहाँ आएर बसेका थियौँ । जुन प्रकारको विद्रोह भयो त्यो गइसक्यो अब संयमित हुनुपर्ने बेला आएको छ । आज प्रधानमन्त्रीको कार्यव्यस्तताले हामीलाई भेट्न नभ्याउनु भएको होला ।"
सोही समयमा प्रधानमन्त्रीलाई भेट्न पुगेका विदेशी पाहुना निस्किए ।
गुरूङ समूहले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेकै बेला जेनजी कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीलगायतको टोली पनि पुग्यो । प्रधानमन्त्रीसँगको भेट भाँड्नका लागि कार्यालयमा सूचना पुर्याएको आरोप लगाउँदै शाहीले थापालाई झपारिन् ।
"यो कोही व्यक्तिको सरकार होइन । नागरिकको सरकार हो । सुधन गुरूङ, रक्षा बम् र ओजस्वीराज शाहीले सरकारलाई आफ्नो हातमा लिन खोजे । हामी सबैको म्याण्डेट एउटै थियो । तर, अहिले कसैलाई किनारा लगाएर सीमित व्यक्तिले सरकार चलाए । हामीले प्रधानमन्त्रीलाई भेट्न नपाउने ?," उनले भनिन् ।
आफूहरूले प्रधानमन्त्रीको भेट्ने समयको लागि बिहानैदेखि लागि पर्दा पनि भेट्न नपाएको बताइन् । "बिहानैदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास गर्यौँ । स्वकीय सचिवले फोन अफ गरे । हामीलाई ब्लक गरेका छन्," शाहीले भनिन् ।
सबै समूह एकै ठाउँमा भेला भएपछि प्रधानमन्त्रीको ढोका अगाडि निकै भिडभाड बढिसकेको थियो । संवेदनशील क्षेत्रमा भिड बढेपछि थप प्रहरी समेत तैनाथ गरिएको थियो ।
प्रधानमन्त्रीलाई भेट्ने समय नपाएको भन्दै आक्रोशित भएका जेनजीहरूले प्रधानमन्त्री आवातजावत गर्ने मुख्य गेटमै अवरोध पुर्याए । गेटमा खटिएका सुरक्षाकर्मीहरूसँग भनाभन नै भएको थियो । प्रधानमन्त्रीले भेट्ने समय नदिएसम्म आफूहरूले गेट नछोड्ने अडान जेनजीको थियो ।
त्यसपछि खेलकुदमन्त्री बब्लु गुप्ता, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन र अर्थमन्त्री रामेश्वर खनाल निस्किए । मन्त्री पुनले मन्त्रिपरिषद्को बैठकमा भएका निर्णय सुनाए ।
जेनजी अगुवाहरूले गेट नै थुनेर सुरक्षाकर्मीसँग भनाभन भइरहेको बेला एक सुरक्षा अधिकारीले १० जना प्रतिनिधि प्रधानमन्त्री कार्यालयभित्र आउन आग्रह गरे । त्यसपछि जेनजी अगुवा थापा र शाहीसहितको जेनजी टोली भित्र छिर्यो ।
उनीहरूलाई प्रधानन्त्री आउनुहुन्छ भन्दै एउटा कोठामा राखिएको थियो । त्यतिबेलासम्म प्रधानमन्त्रीको गाडी ढोकामै `स्ट्यान्डबाई´ राखिएको थियो । जेनजी प्रतिनिधिलाई बसाएको कोठातर्फ नगई प्रधानमन्त्री सिधै गाडीमा चढेर बाहिरिइन् ।
सुरक्षाकर्मीले उनलाई `डाईभर्ट´ गरिदिए ।
प्रधानमन्त्रीले नभेटेको झोकमा आक्रोशित बनेकी शाही प्रमुख स्वकिय सचिव र जेनजी अगुवा थापामाथि फेरि खनिइन् ।
शाहीले जेनजी प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी हुँदा मन्त्रालय पनि जलाउनु पर्छ भन्दै बोलेको भिडियो भाइरल बनेको थियो ।
प्रधानमन्त्री कार्यालयभित्र छिरेका एक जेनजीले भने, "प्रधानमन्त्री आउनुहुन्छ भनेर हामीलाई कोठाभित्र थुनियो । सिँढीबाट आउने भनिएकी प्रधानमन्त्री लिफ्टबाट आएर केही नबोली बाहिरिनुभयो ।"
नियक्ति विवाद भएपछि प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्रीले विधिसम्मत आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिवमा नियुक्ति गरेको बताएका थिए ।
“प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहेको र वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो,” सचिवालयले भनेको छ ।
त्यसबाहेक मिराज ढुंगानालगायत पनि विरोक गर्दै सिंहदरबार परिसर पुगेका थिए । उनीहरूले पनि प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउने तयारी गरेको एक जेनजी अगुवाले बताए ।
तर मिराजसहितका अगुवा सिंहदरबार प्रवेश नपाएपछि गेटमै ज्ञापनपत्र टाँस गरेर बाहिरिएका थिए ।
