काभ्रे । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको छ । पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको सो राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
गत र यस वर्षको बाढीपहिराले सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । त्यसपछि अस्थायी रूपमा डाइभर्सन बनाएर सडक सञ्चालन हुँदै आएको छ ।
क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । काभ्रेतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट निर्माण कार्य सुरु गरिएको उनले बताए । ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । "पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ", योगेशले भने ।
उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किमि सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित) मा निर्माण ठेक्का पाएको छ ।
यस्तै, चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११.०८ किमि सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड (भ्याटसहित) मा खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता भएको छ ।
क्षतिग्रस्त २९.५ किमि सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमि सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।
"निर्धारित समयमै काम सम्पन्न गर्ने गरी मंसिरको सुरुआतदेखि नै स्थायी पुनर्निर्माण थालिएको हो," योगेशले भने । पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई १ अर्बको स्रोत सहमति दिइएको हो । राजकुमार पराजुली/रासस