काठमाडौं । कर्णाली याक्सका बलर मार्क वाटले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो पहिलो शतक बनाउँदा खुसी व्यक्त गरेका छन् ।
शनिबार (मंसिर ६) एनपीएलको दोस्रो संस्करणमा कर्णालीले वाटको शतकमा लुम्बिनी लायन्सविरुद्ध ९ विकेटको जित निकालेको थियो । चुनौतीका बाबजुद शतक प्रहार गर्न पाउँदा वाटले आफू निकै खुसी रहेको बताएका हुन् ।
“म शतक बनाउन पाउँदा निकै खुसी छु । यो मेरो व्यावसायिक जीवनको पहिलो शतक पनि हो । शतक बनाउन निकै चुनौतीपूर्ण थियो,” वाटले भने ।
स्कटल्यान्डका बायाँहाते बलर वाटले खेलमा ४४ बलमा ११४ रन बनाए । त्यसक्रममा उनले ६ चौका र १२ छक्का प्रहार गरेका थिए ।
एनपीएलको इतिहासमा यो दोस्रो शतक हो । पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । दोस्रो संस्करणको भने यो पहिलो शतक हो ।
अब कर्णालीले अर्काे खेलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।