site stats
बाह्रखरी :: Baahrakhari
देश
बारामा ‘जेनजी’ र प्रशासनबीच वार्ता जारी

काठमाडौं । बारामा ‘जेनजी’ प्रतिनिधि र प्रशासनबीच वार्ता जारी छ । शुक्रबार (मंसिर ५) अपराह्न पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा वार्ता गरिएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना र जेनजी प्रतिनिधि सहभागी छन् ।

गएको बुधबार (मंसिर ३) सिमरामा जेनजी र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो । एमाले कार्यकर्ता कुटपिटमा उत्रिएका भन्दै जेनजीले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए । त्यसकै विरोधमा जेनजीले बिहीबार (मंसिर ४) पनि प्रदर्शन गरेका थिए ।

बुधबार र बिहीबार सिमरामा प्रशासनले कर्फ्यु समेत लगाएको थियो । त्यसको अवज्ञा गर्दै जेनजी प्रदर्शनमा उत्रिएका थिए । कुटपिटमा संलग्न आरोपमा तीनजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

एमालेले भने जेनजीले आफ्ना नेता–कार्यकर्तालाई अवरोध गर्न खोजेको आरोप लगाएको छ । बुधबार एमालेले बाराको परवानीपुरमा कार्यक्रम आयोजना गरेको थियो । त्यसकै पृष्ठभूमिमा झडप भएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन सिमरा जान लागेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत तोडफोड, दुई पक्षबीच तनाव र कर्फ्युपश्चात् विमानको उडान नहुँदा काठमाडौंमै रोकिएका थिए ।

सोही घटना र त्यसपछिको अशान्त अवस्थाको अन्त्यका निम्ति जेनजी र प्रशासन छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्