site stats
बाह्रखरी :: Baahrakhari
विचार
नेपाल निर्णायक मोडमा : आकस्मिक विद्रोहदेखि नेतृत्वको खोजसम्म

नेपाल कठिन, संवेदनशील र ऐतिहासिक राजनीतिक मोडमा उभिएको छ । देशमा एकातिर प्रमुख दलउपर जनगुनासा छन् भने दलहरू आपसी बेमेल र आन्तरिक नेतृत्वको खिचातानीमा अल्मलिएका देखिन्छन् । जनताको बढ्दो अविश्वासबीच युवा पुस्ताको ऊर्जा मिश्रित असन्तोषले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमार्फत देशले लिने दिशाको निर्णय हुँदैछ । 

पछिल्ला महिनामा सडकमा देखिएको युवा जागरण कुनै ठूलो क्रान्तिको पूर्वतयारी थिएन । त्यो पीडा, असन्तोष र न्यायको खोजमा अघि बढेको स्वाभाविक जनऊर्जाको विस्फोट थियो । भाद्र २३ मा सुरु भएको शान्तिपूर्ण विरोध केही घन्टामै हिंसक हुनपुग्यो । देशले फेरि एक पटक राज्य, नेतृत्व र संस्थाका कमजोरीलाई नजिकबाट देख्यो । युवा परिवर्तन चाहन्थे तर त्यो परिवर्तन हिंसात्मक क्रान्तिको होइन सुधारको, विनाशको होइनपारदर्शिताको र नाराको होइन अवसरको हुनुपर्ने उनीहरूको माग थियो ।

तनुजा, मिसान, महेश, दिपेन्द्र जस्ता हजारौँ युवाको प्रतिनिधित्व गर्ने अनुहार सडकको भिड थिएन। उनीहरू त देशले आजसम्म सुन्न नसकेको तर सुन्नैपर्ने आवाज थिए । रोजगारीको अभाव, अवसरको कमी, नेतृत्वको संवेदनहीनता, डिजिटल स्वतन्त्रतामाथि दबाब र नातावाद सम्बन्धवादको असह्य पीडाले उनीहरूलाई सडकतिर धकलेको थियो ।  यत्तिकैमा अपरिचित समूहहरूको प्रवेश, हिंसात्मक गतिविधि, ढुंगा, हतियार बोकेको हुल र सुरक्षाकर्मीको कठोर प्रतिक्रियाले यो ऊर्जा गलत दिशातिर मोडियो । त्यसले युवाको उद्देश्यलाई नै धमिलो बनाइदियो र देशका सामु गम्भीर प्रश्न उभ्याइदियो । 

आन्दोलन  किन हिंसात्मक भयो र यस्तो स्थितिमा नेतृत्वले कस्तो दृष्टि लिनुपर्थ्यो भन्ने बारेमा अहिले भिन्न भिन्न प्रतिक्रिया आइरहेका छन् । त्यस सम्बन्धमा यथोचित प्रतिवेदन नयाँ सरकारद्वारा गठित न्यायिक छानबिन आयोगले ल्याउला नै ।

नेपाली राजनीति भने फेरि  द्विविधामा अड्किएको छ । एकातिर सत्तामा फर्कने 'पुराना' नेताहरूको छटपटी अर्कोतिर जनताको चर्को असन्तुष्टि । दलहरू भित्रको अहंकार, नेतृत्वका व्यक्तिगत महत्त्वाकांक्षा र वर्षौँदेखिको गुटगत संस्कृतिले देशलाई लगातार अस्थिरता र अविश्वासको घेरामा बाँध्दै ल्याएको छ ।  शीर्ष नेता केन्द्रित राजनीति, जनभावना बेवास्ता गर्ने व्यवहार र उही अनुहारहरू दोहोरिने गरी भएका अदलीबदलीले नयाँ पुस्ताको आस्था क्रमशः क्षय गरिरहेको छ ।  यही कारणले आजको संकट नीतिगत त्रुटिमात्रै नभएर वर्तमान राजनीतिक संस्कृतिको गम्भीर रोग बन्न पुगेको छ । 

युवा आन्दोलनले उठाएको मूल प्रश्न हो - नेपाल कुन दिशातर्फ उन्मुख छ ? नेतृत्वले भविष्य देख्न सक्छ कि सक्दैन ? प्रमुख नेतृत्वको ‘अर्जुन दृष्टि’ स्पष्ट लक्ष्य, दीर्घकालीन योजना र निरन्तर प्रतिबद्धतासहितको विधिको शासन हुनुपर्ने थियो ।  तर त्यसो भएन । शीर्ष नेताले सत्तालाई मात्र लक्ष्य ठाने । अलोकतन्त्रिकमात्रै होइन अप्राकृतिक गठबन्धन गरेर पनि सत्तामा पुग्नैपर्ने नेताहरूको ध्येय देखियो । उनीहरूले नीतिलाई होइन गुटलाई प्राथमिकता दिए । जनताको आवाजलाई केन्द्रमा राखिएन । नेतृत्वले देशको साटो पद र शक्ति देख्न थालेपछि युवाको ऊर्जा विनाशतिर मोडिन पुग्छ । वास्तवमा भाद्र २४ को विध्वंस त्यसैको उदाहरण हो ।

जेन-जी पुस्ताले भावनात्मक विद्रोहमा होइन सुधारका आवाजसहितको आन्दोलनको आह्वान गरेको थियो । तिनीहरूले पारदर्शिता, समान अवसर, आधुनिक शासन प्रणाली र डिजिटल अधिकारलाई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।उनीहरूले देशको समस्या बुझेर समाधान खोजेका थिए । सरकार परिवर्तनभन्दा पनि उक्त मागहरूको  नेतृत्वबाट कार्यान्वयन मागेका थिए । तर  परिस्थिति अन्यत्र नै मोडियो । स्वभावैले युवामा ऊर्जा हुन्छ तर  ऊर्जाले मात्रले अपेक्षित परिवर्तन सम्भव हुँदैन । परिवर्तनका लागि संरचना, नीति, जवाफदेही र दृढ नेतृत्व अनिवार्य हुन्छ । त्यसका लागि सक्षम एवं परिपक्व नेतृत्वले युवाको क्षमता एवं ऊर्जालाई निर्णय प्रक्रियामा सहभागी गराउनु, उनीहरूको आवाजलाई प्रतीकात्मकमात्र होइन व्यावहारिकरूपमै सम्मान गर्नु र अवसरको ढोका खोल्नुपर्ने थियो । यसमा शीर्ष नेतृत्व चुक्दै आयो । 

 देश अहिले अर्को निर्णायक क्षणतिर अघि बढ्दैछ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान गर्ने मिति तोकिएको छ ।यो निर्वाचन सत्ता परिवर्तनको माध्यममात्र बन्नु हुँदैन । बरू निर्वाचनमार्फत विगतका अस्थिरता, पार्टीगत स्वार्थ र जनअपेक्षाप्रति उदासीन नेतृत्वविरूद्ध नेपाली जनताले  ठोस जवाफ दिनु पर्नेछ । वास्तवमा  अनिश्चितता, अस्थिरता र नेतृत्वको गैरजिम्मेवारीले देश थाकिसकेको छ ।

जनताले पनि अब ताजा, सक्षम, प्रतिक्रियाशील र चरित्रवान नेतृत्व चुन्न सक्नुपर्छ । अब आउने नेतृत्व बोल्नेमात्रै होइन काम गर्ने होस्, समयको गति बुझ्नसक्ने होस्, बहाना गर्ने होइन परिणाम दिने होस् । अहिलेको अपेक्षा यही हो । विडम्बना, प्रमुख दलहरू निर्वाचन केन्द्रित हुनसकेका छैनन् । बरू विघटित संसद् पुनर्स्थापना गरेर पुनः सत्तारोहणको सपना बुनी रहेका देखिन्छन् । त्यसो भयो भने उक्त कदमले युवा पुस्ताको आन्दोलनको मर्ममा कुठराघात गर्नुका साथै देश थप द्वन्द्वमा जाने खतरासमेत निम्तिन सक्छ। 

त्यसैले, यति बेला नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र अन्य सबै राजनीतिक दलहरूको जिम्मेवारी झन् बढेको छ । युवा असन्तोषलाई राजनीतिक लाभहानि नहेरी आत्मसमीक्षा गर्न उनीहरूले तयार हुनैपर्छ ।  पुरातन अनुहार, पुरानै भाषण र उही गुटगत संस्कृतिले अब देशलाई अघि बढाउन सक्दैन । जनताले परिवर्तनको चाहना प्रष्टरूपमा देखाइसके । दलहरूले अब सुन्ने र आत्मपरिवर्तन गर्ने समय आएको छ । नयाँ पुस्ता, नयाँ विचार र क्रियाशील नेतृत्वलाई अगाडि ल्याउँदामात्रै जनताको विश्वास पुनः प्राप्त गर्न सकिन्छ ।

आज,हिंसा होइन निर्माण, क्रोध होइन समाधान, निराशा होइन सम्भावनाको खोजी आवश्यक छ । युवाले उठाएका प्रश्नहरूको जबाफ निष्पक्ष छानबिन,पारदर्शी शासन, रोजगारीका अवसर, डिजिटल स्वतन्त्रताको सुरक्षा, सक्षम संस्थाको निर्माण र स्पष्ट कार्ययोजनामार्फत दिन नेतृत्व तयार हुनुपर्छ । यो राजनीतिक सुधारमात्र होइन राष्ट्रको दीर्घकालीन पुनर्निर्माणको बाटो पनि हो भन्ने कम्तीमा प्रमुख दलका शीर्ष नेताले आत्मसात् गर्नुपर्छ । 

सरकार, प्रमुख राजनितिक दल र आन्दोलनकारी युवा सबैले विवेकपूर्ण निर्णय गर्ने हो भने आउँदो फागुन २१ को निर्वाचन देशलाई नयाँ दिशातर्फ मोड्ने निर्णायक क्षण बन्न सक्छ । समय आइसकेको छ -अघिल्ला गलत चक्र दोहोरिन दिने कि इमानदार, सक्षम नेतृत्वलाई अघि ल्याएर देशलाई स्थिरता र समृद्धितर्फ मोड्ने ? यो जनताले फैसला गर्ने हो । त्यसैले नेपाल अहिले चुनावका लागि चुनावमात्रै होईन वास्तव मै ठूलो अग्रगामी परिवर्तनको चौतारीमा उभिएको छ । यती बेला हुने प्रत्येक निर्णयले राष्ट्रको भविष्य लेख्नेछ । त्यसैले, देशको भविष्य कस्तो बनाउने भन्ने निर्णय पनि सरकार, राजनीतिक दल र सामान्य नागरिकको हातमा छ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्