पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । सामान्य पेट दुखेर अस्पताल भर्ना भएकी भनिएकी तनहुँकी रूपा बिकको मृत्यु भएपछि आफन्तहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
तनहुँको व्यास नगरपालिका–१३, बेनिकोटकी बिकलाई 'पेट दुखेपछि' गत सोमबार (मंसिर १ गते) उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान २ बजेतिर उनको निधन भएको थियो ।
सामान्य अवस्थामा अस्पताल आएकी बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र उपचारमा संलग्न चिकित्सकको कारबाहीको माग गर्दै अस्पतालमा नाराबाजी गरेका छन् ।
मृतकका श्रीमान् किसान सुनारले चिकित्सकको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको आरोप लगाए । "अस्पताल प्रशासनले बिरामीको उपचार हुँदादेखिको रिपोर्ट र चलाइएको औषधिको विवरण लुकाएर घटनालाई ढाकछोप गर्न खोजिरहेको छ," उनले भने ।
आक्रोशित आफन्त र अस्पतालका सुरक्षाकर्मीबीच बुधबार अस्पतालको आईसीयू कक्षअगाडि धकेलाधकेलसमेत भएको थियो । स्थिति तनावपूर्ण बनेपछि अस्पताल प्रशासन र पीडित पक्षबीच बुधबार नै छलफल भएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्कन सकेन ।
पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने, दोषी चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।