site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले साढे चार लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले बुधबार (मंसिर ३) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अर्का व्यक्ति रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ का अरविन्द प्रकाश साह कानु छन् । उनीहरू दुईजना मिलेर साढे चार लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा शिक्षक नियुक्ति गर्दा प्रधानाध्यापक प्रसादले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

यसैक्रममा अख्तियारको टोलीले केही दिनअघि सेवाग्राहीबाट चार लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा प्रसाद र कानुलाई नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान गर्दा उनीहरूले घुस रकम लिएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर गरेको मुद्दामा उनीहरूसँग चार लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्