site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार (कात्तिक २९) काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेसाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षकलगायत लगभग ३०० टोस्टमास्टर्स सदस्यको उपस्थिति थियो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ता तथा लेखक मिहिर कोल्थरकरले ‘किनोट’ वक्तव्य प्रस्तुत गरेका थिए । साइटेसनको एक प्रमुख आकर्षणका रूपमा कम्युनिकेटर अवार्ड रहेको थियो ।

सञ्चारको क्षेत्रमा उत्कृष्टता हासिल गरेका गैरटोस्टमास्टर्सलाई प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यसपालि सञ्चारकर्मी टिकाराम यात्रीलाई हस्तान्तरण गरियो । पुरस्कार ग्रहण गर्दै यात्रीले प्रभावकारी सञ्चारका निम्ति सुझबुझपूर्ण शब्द चयनको महत्त्वबारे प्रकाश पारे । पुरस्कारले आफूमा जिम्मेवार पत्रकारिताप्रति थप दायित्वबोध भएको उनले बताए ।

सम्मेलनमा नेपाली टोस्टमास्टर्सका अग्रणी एवं नेपालमा टोस्टमास्टर्सका सुरुआतकर्तामध्येका एक रहेका डिस्टिंगुइस्ड टोस्टमास्टर रविन लामाले हास्यपूर्ण तरिकाले प्रेरक मन्तव्य प्रस्तुत गरेका थिए ।

सम्मेलनमा उपस्थितको व्यावहारिक ज्ञानका निम्ति उत्कृष्ट टोस्टमास्टर्सहरूबाट मूल्यांकन मन्तव्य र टल­टेल (अतिरञ्जनामा आधारित मन्तव्य)को मञ्चन गरिएको थियो ।

टोस्टमास्टर्स इन्टरनेसनल संसारभर रहेका क्लबहरूको माध्यमबाट सदस्यहरूको सञ्चार र नेतृत्व क्षमता विकासका निम्ति स्थापित एक गैरनाफामूलक संस्था हो । सन् १९२४ मा स्थापित र अमेरिकाको कोलोराडोमा मुख्य कार्यालय रहेको यो संस्थाका हाल १४९ देशमा १३ हजार ८०० भन्दा बढी क्लबमा दुई लाख ६५ हजारभन्दा धेरै सदस्य छन् । टेस्मास्टर्सले विविध पृष्ठभूमिका व्यक्तिहरूमा आमसञ्चार र नेतृत्वको क्षेत्रमा आत्मविश्वासको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

नेपालमा सन् १९९२ मा सुरु टोस्टमास्टर्स हाल देशभर विभिन्न सहरमा ६८ क्लब र एक हजार ४०० भन्दा बढी सदस्यसम्म फैलिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्