site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा रिसाएर हिँडेपछि फोरम बैठकमा गएका छैनन् बालेन, उठाउँदैनन् अध्यक्षको फोन
मेयर बालेन । फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग सोमबार (मंसिर १) काठमाडौं उपत्यकाका पालिकाका मेयरहरूले छलफल गरे । उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग बालुवाटारमा गरिएको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उपस्थित भएनन् ।

बैठकमा फोहोर व्यवस्थापनलगायत विषयमा छलफल गरिएको थियो । बालेन अनुपस्थित रहेका र उनी मेयर्स फोरमको बैठकमा उपस्थित नहुने गरेका एक मेयरले जानकारी दिए ।

“मेयर फोरमको बैठक र कार्यक्रममा उहाँ कहिल्यै पनि उपस्थित हुनु हुन्न । निर्वाचित भएपछि सुरुका एक/दुई बैठकबाहेक त्यसयताका बैठकमा उपस्थित हुँदैनन् । मेयर्स फोरमका अध्यक्षको फोन पनि उठाउँदैनन्,” ती मेयरले बाह्रखरीसित भने ।

मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनको नेतृत्वमा ०८० कात्तिक १४ गते ललितपुर महानगरपालिकामा बसेको बैठकमा बालेन आफूलाई बोल्न नदिएको भन्दै रिसाएर हिँडेका थिए ।

त्यति बेला पनि फोहोर व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । तर, बालेन केही बेरमै बाहिरिएका थिए । त्यसयता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको बैठकमा पनि बालेन अनुपस्थित थिए ।

स्रोतका अनुसार, उनले प्रधानमन्त्री कार्कीलाई ‘जेनजी’ प्रदर्शनपछि मात्र तीनपटक एक्लै भेटिसकेका छन् । तर, सामूहिक छलफलमा गएनन् ।

प्रधानमन्त्रीसँग भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको स्थानीय तहका संरचनाका विषयमा पनि छलफल गरिएको मेयर्स फोरमका सचिव एवं टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए ।

“जेनजी प्रदर्शनका क्रममा क्षति भएका स्थानीय तहका संरचना, फोहोरमैला व्यवस्थापन, स्मार्ट लाइटलगायत सवालहरूमा छलफल भयो । मेयर फोरम आफैँले काम त गर्ने होइन, तर सरकारलाई दबाब दिने हो,” उनले भने ।

मेयरहरूले उपत्यकाको विकासका निम्ति राखेका माग वर्तमान अन्तरिम सरकारले पूरा गर्न नसक्ने प्रधानमन्त्री कार्कीले बताइन् । आउँदो चुनावपछिको नयाँ सरकारसमक्ष माग राख्न उनले मेयरहरूलाई आग्रह गरेकी थिइन् ।

“तोडफोड, लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधि गर्नेहरूलाई सरकारले कारबाही गर्न नसकेको विषयमा पनि मेयरहरूले प्रश्न गरेका थियौँ । यस विषयमा सरकारको कारबाही फितलो भएको विषय पनि उठेको थियो,” अधिकारीले भने ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्