site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा चुनौती थपिएको बताएका छन् ।

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा सोमबार (मंसिर १) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागुऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल एवं संगठित अपराध अनुसन्धानका निम्ति क्षमता विकास तालिम आवश्यक रहेको बताए ।

उनले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न निर्देशन दिए । विगतका आपराधिक गतिविधि तथा लामो समयसम्म ‘पेन्डिङ’मा रहेका घटनालाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न उनले निर्देशन दिए ।

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन सहयोग पुर्‍याउने बताए । पीडितपक्षलाई न्याय दिलाई समाजमा प्रहरीप्रतिको प्रतिष्ठा एवम् विश्वास अभिवृद्धि गर्न अझ जिम्मेवार र क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्था, चुनौती, समाधानका उपायलगायत विषयमा धारणा व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्