site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नगरिए व्यवसायीसँगै नागरिकको मनोबल खस्कन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ ‘जेनजी’ आन्दोलन भए पनि त्यसमा घुसपैठ गरिएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार (मंसिर १) काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

उनले आन्दोलनमा घुसपैठ गर्नेमाथि सरकारले कारबाही नगरे व्यवसायीसँगै आमनागरिकको मनोबल खस्कँदै जाने बताए । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षा गर्न नसके मुलुकमा थप लगानी नहुने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ थियो ।

अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकामा उनले प्रशंसा गरे । बैंकमा ११ खर्ब रुपैयाँभन्दा बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै उनले लगानीको वातावरण तयार गर्न माग गरे ।

उनले धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनालाई आईपीओ जारी गर्न नदिएकामा असन्तुष्टि समेत जनाए । धितोपत्र बोर्डमा देखिएको समस्या तत्काल समाधान गर्न उनले अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरे ।

कार्यक्रममा चन्द्रप्रसाद ढकालको भनाइ पढ्नोस्–
जेनजीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो, सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारणसभामा पनि पारितै गरेको अवस्था थियो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसाबबाट गलत घुसपैठ भयो, चोरी, आगजनी, लुटपाट, तोडफोडहरू भयो । वास्तवमा यसको यो गलत तत्त्वहरूको जुन घुसपैठ भएको छ, गलत गर्ने, घुसपैठ गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तब मात्र आमनिजी क्षेत्रको मनोबल उच्च हुनेछ । आन्दोलनको सही उद्देश्य र जुन एउटा आन्दोलन जुन हिसाबले भएको थियो, त्यसमा गलत तत्त्वको जुन प्रवेश गरेर जुन व्यक्तिगत तहमा उत्रेर उद्योग, व्यवसायहरू, व्यक्तिगत सम्पत्ति, घरलगायत क्षति भयो, यो गलत छ । सरकारले सुरक्षा दिन नसक्ने हो भने वास्तवमा आउने दिनमा यस्ता किसिमका घुसपैठहरू हुनेछन् । व्यक्ति, व्यवसायीको कन्फिडेन्स लुज हुनेछ । त्यसै गरेर म यहाँ के भन्न चाहन्छु भने, वास्तवमा यो आन्दोलनको बेलामा गलत घुसपैठको कारणबाट भएको तोडफोड आगजनी र नोक्सानी भयो र व्यवसायीहरूलाई जुन एउटा सहुलियत दिनको लागि अर्थ मन्त्रालयले छोटो समयमा काम गरेको छ, यो प्रभावकारी छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्