site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल सोमबार (मंसिर १)देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गर्‍यो । 

कार्यक्रममा मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए । एनपीएल आयोजना सुरु हुनुअगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । 

मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

उनले वर्तमान सरकारले दोस्रो चरणमा त्रिवि मैदानको निर्माण गर्न टेन्डर आह्वान भइसकेको बताएका छन् । २/३ वर्षभित्र यो रंगशाला निर्माणले पूर्णता पाउने र क्रिकेट समर्थकले खुसी पाउने उनले आशा गरेका छन् । 

साथै, मन्त्री घिसिङले टी ट्वान्टी विश्वकपमा छनोट भएको नेपाली टोलीको तयारीमा सहयोग गर्ने विश्वास व्यक्त गरे । ठूलो अन्तर्राष्ट्रिय क्रिकेट नेपालमा आयोजना गराउने माध्यम सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्