काठमाडौं । मिलेमतोका आधारमा सरकारी ठेक्काका सूचना प्रकाशन नगरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संलग्न सरकारी अधिकारी र मिडिया मालिकलाई मुद्दा लगाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैयाको ठेक्कामा तीन लाख १६ हजार ५७० रुपैयाँ भ्रष्टाचारको भएको अभियोगसहित आयोगले आइतबार (कात्तिक ३०) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादव, लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निशान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले आपसी मिलेमतोमा बोलपत्रको सूचना छपाएको अभियोग लगाएको छ ।
आयोगका अनुसार, आर्थिक वर्ष २०७९/८० को स्वीकृत बजेटअन्तर्गत डिभिजन कार्यालयले दुई ठेक्काका बोलपत्र सूचना सार्वजनिक खरिद ऐनानुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । तर, ठेक्का प्रक्रियामा प्रतिस्पर्धा छल्न सूचना प्रकाशन भएको झुटो प्रमाण तयार पारिएको अनुसन्धानले देखाएको छ ।
आयोगका अनुसार, उक्त विज्ञापन प्रभाव दैनिकमा प्रकाशनमा भएको दाबी गरिएको थियो । तर, प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रालिले उपलब्ध गराएको पत्रमा ०७९ फागुन २१ गते प्रकाशित भनिएको प्रभाव दैनिकको कुनै पनि पृष्ठमा कलैया खानेपानी डिभिजन कार्यालयका ठेक्का सूचना प्रकाशन नभएको उल्लेख छ ।
आयोगले झुटा प्रमाण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय र बिगो असुलीको मागसहित मुद्दा दायर गरेको हो ।