site stats
बाह्रखरी :: Baahrakhari
खेल
बाबरको शतकप्रेरित पाकिस्तानलाई एकदिवसीय शृंखला

काठमाडौं । बाबर आजमको शतकप्रेरित पाकिस्तानले एकदिवसीय शृंखलामा पाहुना टोली श्रीलंकाविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

शुक्रबार रावलपिण्डीमा सम्पन्न खेलमा बाबरले शतक बनाउँदा श्रीलंकाले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पाकिस्तानले आठ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जितमा बारबले ११९ बलमा १०२ रनको अविजित इनिङ खेले । यसक्रममा उनले आठ चौका प्रहार गरे । 

बाबरसँगै अविजित रहेका मोहम्मद रिजवानले ५४ बलमा पाँच चौका र एक छक्कासहित ५१ रन थपे । यी दुईले १७७–२ को स्थितिबाट अविजित ११२ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितसम्म डोर्‍याएका थिए । 

ओपनर फखर जमानले ९३ बलमा आठ चौका र एक छक्कासहित ७८ रन थपे । फखर र बाबरले पनि ७७–१ को स्थितिबाट १०० रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ सम्हालेका थिए । सैम अयुबले ३३ रन बनाए । 

श्रीलंकाका दुस्मन्था चमिराले दुई विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८८ रनको योगफल बनाएको थियो । 

श्रीलंकाका जानिथ लियानागेले सर्वाधिक ५४ रन बनाए । कामिन्दु मेन्डिसले ४४, सदीरा समराविक्रमाले ४२ र वनिन्दु हसरंगाले ३७ रन थपे । ओपनरद्वय कामिल मिसाराले २७ रन जोड्दा पथुम निसांका र कुशल मेन्डिसको नाममा क्रमशः २४ र २० रन रह्यो । 

पाकिस्तानका ह्यारिस रौफ र अब्रार अहमेदले समान तीन विकेट लिए । मोहम्मद वसिमले एक विकेट हात पारे ।

जितसँगै तीन खेलको एकदिवसीय शृंखला पाकिस्तानले अन्तिम खेलअगावै जितेको छ । लगातार दोस्रो जित निकालेको पाकिस्तान शृंखलामा २–० ले अघि छ । 

यी दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल आइतबार रावलपिण्डीमै हुनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्