काठमाडौं । नव जनजागृति युवा क्लब आगामी पुस ९ गतेदेखि सुरु हुने राष्ट्रिय लिगको निम्ति छनोट भएको छ । शुक्रबार (कात्तिक २८) नव जनजागृतिले एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइलन प्रवेश गरेसँगै टोली राष्ट्रिय लिगको निम्ति छनोट भएको हो ।
समूह ‘बी’ को पहिलो टोलीको रूपमा सेमिफाइनल प्रवेश गरेको नव जनजागृतिले १० अंक जोडेको छ । नव जनजागृतिले कुल चार खेलमा तीन जित र एक बराबरीसँगै यो नतिजा आत्मसाथ गरेको हो ।
शुक्रबार नव जनजागृतिले सेमिफाइनलमा प्रवेश गर्नेक्रममा हैरान्सविरुद्ध ७–२ को जित निकालेको थियो । नव जनजागृतिको जितमा टोलीका सुजन डंगोलले ह्याट्रिक प्रहार गरे । प्रताप सिंह राई, अभिनाश स्याङताङ र क्रिपकान्त महतो थारुले समान एक गोल गरे ।
टोलीले एक आत्मघाती गोल उपहार पाएको थियो । जवाफमा हैरान्सका विजय डोङ र स्यामियल सुनारले समान एक गोल फर्काए ।