काठमाडौं । प्रहरीले डोल्पामा बढेको अत्यधिक चिसोका कारण अलपत्र परेका पाँचजना प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरेको छ ।
डोल्पामा चिसो अत्यधिक बढ्दै गएपछि इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरणका लागि ३ दिनको पैदल यात्रामा निस्किएका प्रहरी कर्मचारीहरू चिसो र हिमपातका कारण बाटैमा अलपत्र परेका थिए ।
यात्राको क्रममा अत्यधिक चिसो, हिमपात र दुर्गम भौगोलिक अवस्थाका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनीहरूसँग सम्पर्क कठिन बनेको थियो ।
उक्त घटना जानकारी पाएलगत्तै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाली सेनासँग समन्वय गर्दै हेलिकोप्टरमार्फत तत्कालै उद्धार गरी उपचारको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
आईजीपी कार्कीको निर्देशनपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत अलपत्र परेका पाँच जना प्रहरीहरूलाई सुरक्षित रूपमा उद्धार गरी सुर्खेत पुर्याइएको छ । हाल कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उनीहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसरी उद्धार गरिएका प्रहरीहरूमा सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, हवल्दार जनकबहादुर कार्की, जवानहरू नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन् ।