काठमाडौं । वाणिज्य बैंकहरूको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिकपछि सेयरमूल्यमा प्रभाव देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही त्रैमासको तुलनामा घट्यो ।
गत वर्षको पहिलो त्रैमासमा १६ अर्ब १२ करोड ९४ लख रुपैयाँ नाफा गरेका थिए । वाणिज्य बैंकले यो वर्षको पहिलो त्रैमासमा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरे । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो नाफा साढे १८ प्रतिशतले कमी हो ।
कुल २० वाणिज्य बैंकमध्ये १९ वटा नेपाल स्टकमा सूचीकृत छन् । नेप्सेमा सूचीकृत वाणिज्य बैंकमध्ये माछापुच्छ्रे, ग्लोबल आईएमई र एभरेष्ट बैंकले लाभांश वितरण गरिसके । कतिपयले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेर पुस मसान्तभित्र साधारणसभा बोलाउन लागेका छन् ।
तर, बैंकहरूको सेयरमा लगानीकर्ताहरू त्यति उत्साहित देखिँदैनन् । पछिल्लो एक वर्षको वाणिज्य बैंकको सेयरमूल्य हेर्दा न्यून विन्दुनजिक नै पुगेको देखिन्छ । कतिपय वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ ।
यसरी सेयरमूल्य २०० रुपैयाँभन्दा कम हुनेमा कुमारी, हिमालयन, प्रभु र सिटिजन्स इन्टरनेसनल बैंक छन् । यी बैंकहरूले पहिलो त्रैमासमा राम्रो नाफा गर्न सकेनन् । सिटिजन्स बैंकले त घाटा नै व्यहोर्नु परेको छ । यो बैंक पहिलो त्रैमासमा २२ करोड रुपैयाँ घाटामा छ ।
असोज मसान्तसम्म १४ वाणिज्य बैंकहरूको नाफा घटेको छ । जसमध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक ९६.९९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशत, प्रभु बैंकको ४६.३३ प्रतिशत र नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घटेको छ ।
सबैभन्दा सस्तो सेयर मूल्य भएका कुमारी र हिमालयन बैंकको नाफा भने सामान्य घटेको छ । यी बैंकले गत वर्षको तीन महिनामा कमाएको जति नै नाफा त चालु वर्षमा कमाउन सकेनन् । तर, त्यति धेरै घट्न भने दिएनन् ।
कुमारी बैंकको नाफा दुई प्रतिशत र हिमालयन बैंकको नाफा तीन प्रतिशतले घटेको छ । कुमारीले गत वर्षको पहिलो त्रैमासमा एक अर्ब सात करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, यो वर्षको सोही अवधिमा एक अर्ब पाँच करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी हिमालयन बैंकले गत वर्षको पहिलो त्रैमासमा ७२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा ७० करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकहरूको पुँजी बढी भएकाले पनि सेयरमूल्य त्यति धेरै बढ्ने र घट्ने हुँदैन । तर, एक वर्षको तथ्यांकले त्यस्तो देखाउँदैन । पछिल्लो एक वर्षको उच्च मूल्यबाट बैंकहरूको मूल्य दोस्रो बजारमा ३१ प्रतिशतसम्म घटेको छ ।
सबैभन्दा बढी मूल्य घट्नेमा एनआईसी एसिया बैंक छ । यो बैंकको सेयरमूल्य उच्चबाट ३१ प्रतिशत तल झरेको छ । हाल यो बैंकको सेयरमूल्य प्रतिकित्ता ३०८ रुपैयाँ ९० पैसा छ ।
त्यसैगरी प्रभु बैंक, कुमारी, हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, नेपाल, सानिमा, सिद्धार्थ, नेपाल एसबिआई, ग्लोबल आईएमई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य १८ प्रतिशतभन्दा बढीले घटेको छ ।
बैंकहरूको पछिल्लो एक वर्षको सेयरमूल्य