site stats
बाह्रखरी :: Baahrakhari
खेल
पर्याप्त अभ्यास र मतभेदबीच जितको खोजीमा नेपाल

काठमाडौं । पर्याप्त तयारी र अभ्यास नै खेलकुदमा निःसन्देह उत्कृष्ट नतिजाको मेरुदण्ड हो । अझ फुटबलजस्तो ‘टिम स्पोर्ट्स’मा टोलीमा रहेको सामूहिक भावना नै नतिजाको प्रमुख आधार बन्ने गर्छ ।

तर, यति बेला नेपाली राष्ट्रिय फुटबल टिमले ठ्याक्कै यो अभ्यासविपरीत दुई अन्तर्राष्ट्रिय खेल खेल्दै छ । छोटो तयारीको भरमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेश र मलेसियाविरुद्ध खेल्न लागेको हो ।

घरेलु फुटबलको किचलोमा राष्ट्रिय टिमकै खेलाडी प्रत्यक्ष रूपमा सहभागी भएका छन् । यही कारण खेलाडीबीच नै मनमुटावको स्थिति देखिन्छ ।

नेपालले बिहीबार (नोभेम्बर १३) बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ । नेपालले नोभेम्बर १८ मा एएफसी एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाविरुद्ध खेल्ने तालिका छ, ठ्याक्कै भन्नुपर्दा पाँच दिनको अन्तरालमा ।

तर, मैत्रीपूर्ण खेलका निम्ति बंगलादेश र त्यहीँबाट मलेसिया जाने टिमको बिदाइ कार्यक्रममा खेलाडीबीचको मतभेद छरपस्ट भयो । यहीँबाट हो, नेपाली टिमको ‘टिम भावना’प्रति प्रश्न उठाउने ठाउँ बनेको ।

किन छन् खेलाडी फरक मतमा ?
इतिहासकै नाजुक अवस्थामा पुगेको नेपाली फुटबलले शीर्ष डिभिजन लिगको मुहार हेर्न नपाएको तीन वर्ष हुन लागिसक्यो । घरेलु लिग ठप्पै छ । लिग पिरामिडकै ‘बी’, र ‘सी’ डिभिजन छनोट पनि नियमित छैन ।

asdfgm-1763027457.jpg
यही कारण राष्ट्रिय टिमका नियमित सदस्य समेत रहेका अनन्त तामाङ, अञ्जन बिष्ट, एरिक बिष्ट, रोहित चन्द, सनिस श्रेष्ठलगायत खेलाडी नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भए । तर, टिमका कप्तान किरणकुमार लिम्बूले उनीहरूको यो कदम रुचाएनन् । किरणले बिदाइ कार्यक्रममा खेलाडीको उक्त सहभागिताप्रति असन्तुष्टि नै व्यक्त गरे ।

“राष्ट्रिय टिमकै खेलाडीहरूलाई त्यसरी सडक विरोधमा उत्रिन नैतिकताले दिँदैन,” किरणले भने ।

किरणको यो धारणालाई राष्ट्रिय टिमका अधिकांश खेलाडीले रुचाएनन् । उनीहरूले सामाजिक सञ्जालमा एकैखाले पोस्ट सेयर गर्दै लेखे, “मैले राष्ट्रिय टोलीबाट खेलिरहेको छु भन्ने अर्थ यो होइन कि नेपाली फुटबलको अवस्था सबै ठिक छ ।” 

तीन दिनको प्रशिक्षण !
घरेलु फुटबलको स्थितिप्रति खेलाडीले फरक मत राख्दै गर्दा नेपाली टिमको प्रशिक्षणमा पनि सन्तोष गर्ने ठाउँ छैन । नेपालले यी दुई अन्तर्राष्ट्रिय खेलका निम्ति तीन दिन मात्र प्रशिक्षण गरेको छ ।

यही कात्तिक १८ गते निवर्तमान मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि यो जिम्मेवारीमा आएका हरि खड्काले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसपछि टिमले उनको नेतृत्वमा कात्तिक २२ देखि २४ गतेसम्म मात्र प्रशिक्षण गर्‍यो ।

नेपालले दुवै खेल पाहुना टोलीका रूपमा खेल्दै छ । फुटबलकै भाषामा भन्नुपर्दा– नेपाली टिम चर्को दबाबमा छ । अझ पछिल्ला पाँच खेलयता जितविहीन यात्राले नेपाली टिमको यो दबाबलाई झनै बढाएको छ ।

प्रशिक्षक खड्का भने टिमको मतभेद र पर्याप्त अभ्यासको अभावलाई ठाडै नकार्छन् । उनले भनेका छन्, “हामी आत्मविश्वस्त छौँ । हामीले पर्याप्त तयारी गरेका छौँ । फुटबल सामूहिक खेल भएकोले नेपाली टिम सामूहिक एकतामा विश्वास गर्छ ।”

विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा मलेसिया नेपालभन्दा ६२ स्थानमाथि ११८औँ नम्बरमा छ । चार स्थान तल रहेको बंगलादेश १८४औँ वरीयतामा छ । नेपाल वरीयताको १८०औँ स्थानमा छ ।

asdkgm-1763027484.jpg
हम्जाको उपस्थिति
नेपालविरुद्धको यो दोस्रो मैत्रीपूर्ण फुटबलमा पहिलो खेलमा अनुपस्थित बंगलादेशी रक्षक हम्जा चौधरी पनि उपस्थित हुनेछन् । बंगलादेश फुटबल संघ (बीएफएफ)का अनुसार, इंग्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटी (हाल लोनमा सेफिल्डबाट खेलिरहेका)मा आबद्ध उनले फिफाको नोभेम्बर विन्डोमा प्रतिस्पर्धा गर्नेछन् । उनी पहिलो मैत्रीपूर्ण फुटबलमा चोटका कारण अनुपस्थित थिए ।

सात खेलमा एक मात्र जित
पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रदर्शन निराशाजनक छ । नेपालले आठ महिनाभित्र पुरुषतर्फ सात अन्तर्राष्ट्रिय खेल खेलेको छ । तीमध्ये नेपालले एकमा मात्र जित आत्मसात् गरेको छ । दुईमा बराबरी र चार खेलमा हार व्यहोरेको छ ।

नेपालले खेलेका यी सातमध्ये चार खेल एएफसी एसियन कप छनोट र तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल थिए । नेपालले पछिल्लोपटक गएको मार्चमा जितको अनुभव गरेको थियो । त्यति बेला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्