काठमाडौं । नेपाली रष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शनमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । बुधबार (कात्तिक २६) उनले बंगलादेशसँगको खेल सधैँ प्रतिस्पर्धात्मक रहने पनि बताए ।
“यो खेलको निम्ति हामी तयार छौँ । यो फुटबलले मलेसियाविरुद्धको खेलमा प्रदर्शन गर्न सहयोग गर्नेछ । बंगलादेशविरुद्धको खेल सधैँ प्रतिस्पर्धात्मक नै हुन्छ । यो खेललाई पनि महत्त्वका साथ लिएका छौँ,” कप्तान किरणले भने ।
नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल बंगलादेशको ढाकास्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयानुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
नेपालले यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ५ मा सम्पन्न पहिलो मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको थियो ।