सन् २०२५ को जनवरीदेखि अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग प्रणालीमा उथलपुथल भइसकेको छ । संस्थाहरू बन्द गरिएका छन्, नीतिहरू उल्टापुल्टा पारिएका छन् र बजेट कटौती गरिएको छ । अब अमेरिकी नीतिको भविष्य के हुन्छ, अन्तर्राष्ट्रिय सहयोग प्रणाली कता जान्छ वा संसारका सबैभन्दा गरिबहरूको अवस्था कस्तो बन्छ भन्नेमा स्पष्टता छैन । यति भने निश्चित छ ठूलो पूरा गर्नुपर्ने अन्तर निकै ठूलो छ ।
स्थिति अत्यन्तै गम्भीर छ । विश्व बैंकका अनुसार प्रतिदिन ३ डलरभन्दा कम आम्दानीमा बाँच्न बाध्य मानिसहरूको तथ्यांक ८३ करोड १० लाख पुगेको छ जुन विश्व जनसंख्याको लगभग १० प्रतिशत हो। संसारका आधाभन्दा धेरै अत्यन्त गरीबहरू अहिले द्वन्द्व पीडित वा अस्थिर देशहरूमा बस्छन् र आउँदो ५ वर्षमा यो अनुपात दुईतिहाइ पुग्ने अनुमान छ । यस्ता देशहरूमा लगभग ४० प्रतिशत जनसंख्या प्रतिदिन ३ डलरभन्दा कममा गुजारा गर्छन् भने अरू विकासशील अर्थतन्त्रहरूमा यो संख्या ६ प्रतिशत जतिमात्र छ ।
यस सन्दर्भमा, मेरो संस्था इन्टर नेसनल रेक्यु कमिटी (आईआरसी)ले सबैभन्दा सहयोग आवश्यक भएका देशहरू पहिचान गर्न तथ्यांक विश्लेषण गर्यो । हामीसँग १३ देशको सूची आयो । तीमध्ये उदाहरणका रूपमा सुडान छ जहाँ संसारको सबैभन्दा ठूलो मानवीय संकट चलिरहेको छ । विश्वका २९ प्रतिशत अत्यन्त गरीब यिनै देशमा बस्छन् तर विश्वव्यापी सहयोग बजेटको भने ९ प्रतिशतमात्र त्यहाँ लगानी हुन्छ । यसले लगभग ३५ अर्ब डलरको लगानी अन्तर (फन्डिङ ग्याप) देखाउँछ।
रूसले २०२२ मा पूर्ण आक्रमण गरेपछि युक्रेन विश्वको सबैभन्दा ठूलो सहयोग प्राप्तकर्ता देश भएको छ । युरोपेली देशहरूले पनि आफ्नै देशमा शरणार्थीलाई बसोबास गराउन खर्च गरेको रकमलाई ‘वैदेशिक सहयोग’ को रूपमा सूचीकृत गर्न थालेका छन् । अहिले यस्तो खर्च विश्व सहयोग रकमको लगभग १४ प्रतिशत बराबर छ अर्थात् लगभग मानवीय सहयोगमा खर्च हुने जति ।त्यसैले अमेरिकाले कटौती नगरेको नै भए पनि सहयोग प्रणालीबारे नयाँ सोच आवश्यक थियो ।
पहिलो - सहयोग सबैभन्दा गरिब ठाउँ र सबैभन्दा विपन्न जनतामा केन्द्रित हुनुपर्छ
विश्व सहयोग बजेटको ९०प्रतिशत अनुदान हो र बाँकी सुलभ ऋण । तर, समस्या के छ भने संसारका ५० प्रतिशत अत्यन्त गरिब द्वन्द्व ग्रस्त देशमा छन् तर विश्व सहयोगको २५ प्रतिशतमात्र त्यहाँ जान्छ । यो असङ्गति हटाउनु आवश्यक छ ।
दोस्रो – तथ्यमा आधारित, कम लागत र प्रभावकारी कार्यक्रममा लगानी
आईआरसीले पूर्वी अफ्रिकामा समुदायमा आधारित खोप अभियान चलायो जहाँ हामीले प्रतिमात्रा २ डलरमात्रमा २ करोडभन्दा बढी खोप पुर्यायौँ । त्यस्तै, बालबालिकामा गम्भीर कुपोषण उपचारका लागि सरल र एकीकृत विधि प्रस्ताव गरेका छौँ । मालीमा २७ हजार ८०० कुपोषित बालबालिकामा गरिएको अध्ययनमा हामीले झन्डै २० प्रतिशत लागत बचायौँ । तर यस्ता प्रभावकारी मोडेललाई विश्वभर विस्तार गर्न दातृ राष्ट्रहरूको सोच बदलिनुपर्छ । तिनलाई कमजोर नबनाई नतिजा देखिनेगरी सहयोग प्रवाह हुनुपर्छ ।
तेस्रो - कार्यक्रम, वित्त र सेवा आपूर्तिमा नवप्रवर्तन
आईआरसीले हाल अफ्रिकामा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर मन्कीपक्सको परीक्षण समय २ साताबाट ५ मिनेटमा झार्दैछ । उस्तै, द्वन्द्व वा प्रकोपले शिक्षा अवरुद्ध भएका बालबालिका लागि एआई ले प्रभावकारी सिकाइ परिणाम ल्याउन सकिने देखिएको छ ।
नवप्रवर्तनका लागि नयाँ पुँजी आवश्यक हुन्छ । जस्तै बाढी वा सुख्खाजस्ता प्रकृतिजन्य संकटमा तुरुन्तै पैसा उपलब्ध गराउने तत्कालिक बिमा (प्यारामेट्रिक इन्सोरेन्स), त्यस्तै, ऋण विनिमय मार्फत वातावरण सुधारका परियोजनामा १.७ अर्ब डलर बराबर काम ७ देशमा भइसकेको छ । अब यही प्रविधि मानवीय सहयोगमा पनि चाहिन्छ ।
चौथो - नतिजामा आधारित जवाफदेही
वित्तीय लगानी (कति पैसा, कति कर्मचारी, कति तालिम) को सट्टा उपलब्धि (कति सिकाइ उपलब्धि, कति सुरक्षित प्रसूति, कति स्वस्थ नवजात शिशु) प्रति जिम्मेवार बनाइनुपर्छ । स्विडेनले हामीलाई यसरी नै जवाफदेही बनाएको छ । यो मोडेल अरूले पनि अपनाउनु जरुरी छ ।
पाँचौं - विश्व अर्थतन्त्रको आकारअनुसार सहयोगको बोझ बाँडफाँट
विश्व आयमा अमेरिकाको २५ प्रतिशत हिस्सा छ । तर यसले विदेशी सहयोगमा खर्च गर्ने रकम उसको राष्ट्रिय आयको ०.२२ प्रतिशतमात्रै थियो भने अहिलेको कटौतीपछि त अझै घट्नेछ ।
तर फेब्रुअरीमा गरिएको एक सर्वेमा ८९ प्रतिशत अमेरिकीले भने — संघीय बजेटको १ प्रतिशत विदेशी सहयोगमा जानुपर्छ । वास्तविक खर्च पहिले नै लगभग त्यसैको आसपास छ । त्यसैले एउटै प्रतिशत कायम राख्न सक्नु अमेरिकीहरूका लागि एकताकार बन्न सक्छ ।
आजको यथार्थ
• द्वन्द्व ग्रस्त क्षेत्रमा ८० प्रतिशत कुपोषित बालबालिका उपचारविहीन छन्
• मातृ मृत्युमध्ये ६० प्रतिशत अस्थिर देशहरूमा हुन्छ ।
• यिनै देशका ८ करोड ५० लाख बालबालिका विद्यालयबाहिर छन् ।
यी चुनौतीको समाधान अन्तर्राष्ट्रिय सहयोग हो समस्या कायम रहन दिनु होइन।
मानवजातिसँग इतिहासकै सबैभन्दा धेरै साधन छन् । प्रश्न हामी तिनलाई बुद्धिमानीपूर्वक प्रयोग गर्छौँ कि गर्दैनौ भन्ने हो ।संघीय बजेटको १ प्रतिशत सहयोगका लागि छुट्याउनु धेरै ठूलो होइन । तर त्यसबाट जीवन बचाउन र विश्वमा स्थिरता ल्याउन सकिन्छ । यो अमेरिकाको आफ्नै हितमा पनि फाइदाजनक हुनेछ । यसैले जति छिटो हुन्छ उति राम्रो हुनेछ ।
(पूर्व ब्रिटिस परराष्ट्रमन्त्री)
अध्यक्ष तथा प्रमुख कार्यकारी, इन्टरनेसनल रेस्क्यु कमिटी
Copyright: Project Syndicate, 2025.