काठमाडौं । स्पेनका विंगर लामिन यमल राष्ट्रिय टिमबाट बाहिरिएका छन् । मंगलबार स्पेनिस फुटबल संघ (आरएफईएफ)ले यमललाई चोटका कारण टिमबाट हटाइएको जनाएको हो ।
योसँगै यमलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत जर्जिया र टर्कीविरुद्धको खेल गुमाउने भएका छन् । “रोयल स्पेनिस फुटबल संघले यमलको अवस्थालाई मध्यनजर गरी राष्ट्रिय टिमबाट हटाउने निर्णय गरेको छ । यो निर्णय मेडिकल रिपोर्टबाट यमललाई एक हप्ताभन्दा लामो समय आराम लिनुपर्ने सुझाव आएपछि गरिएको हो,” स्पेनिस फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय यमल चोटका कारण नियमित लयमा फर्कन संघर्षरत छन् । चोटकै कारण १८ वर्षीय उनले स्पेनिस क्लब बार्सिलोनाका पछिल्लो पाँच खेल गुमाएका छन् । स्पेन हाल विश्वकप छनोटको समूह ‘ई’ मा छ । युरोपियन क्षेत्रीय छनोटमा रहेको स्पेनले तालिकामा चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक जोडेको छ ।